-->
किमाथांकाका बासिन्दाले अरुण किनारमा दुई फिट चौडा र १० फिट अग्लो पर्खाल लगाउन थाले
Advertisement

खाँदबारी: चीनले मितेरी अरुण नदीको किनारमा पर्खाल लगाएर सडक बनाएपछि नेपाली भूमितिर बग्न थालेको नदीको कटान रोक्न किमाथांकाका बासिन्दाले पर्खाल लगाउन थालेका छन्। किमाथांका ७ को हेमांथांकामा अरुण बग्न थालेपछि नेपाली भूमि जोगाउन पर्खाल लगाउन थालिएको हो।
 
किमाथांका गाउँ विकास समितिको २४ औं परिषद्को जम्मा पुँजीगत अनुदान नौ लाख ८७ हजार रुपैयाँ अरुणकिनारमा पर्खाल लगाउन खर्च गरिएको छ। स्थानीय बासिन्दाले तेन्छेवी शेर्पाको अध्यक्षतामा नेपाली भूमि बचाऊ समिति गठन गरी काम सुरु गरेका हुन्। उनीहरूले दुई फिट चौडा र १० फिट अग्लो पर्खाल लगाउन थालेका छन्।
 
नदीले किमाथांकाको केही जमिन बगाइसकेको छ। किमाथांकाका बासिन्दाले अरुणले नेपाली भूमि कटान गरेको जानकारी पटकपटक स्थानीय प्रशासनदेखि मन्त्रीसम्मलाई गराउँदा पनि कुनै सुनुवाइ नभएपछि गाविसको बजेट र २० लाख रुपैयाँभन्दा बढीको जन श्रमदान गरी पर्खाल लगाइएको अध्यक्ष तेन्छेवीले बताए। स्थानीय ८२ परिवारबाट एकजना अनिवार्य श्रमदानमा सहभागी हुँदै आएका छन्। एक महिनादेखि पर्खाल लगाउने काम भइरहेको समितिका सचिव जिप्पा भोटेले बताए।
 
चीनले पुनर्निर्माण र सहर विस्तार गर्दा अरुणका ढुंगा, गिटी र बालुवा निकालेर प्रयोग गरेपछि खोलाले नेपाली भूमितिर कटान गरेको किमाथांकाका बासिन्दाको आरोप छ। यसमा नेपाल सरकारले कुनै चासो नदिएको उनीहरूको दुखेसो छ। चीनका वाणिज्यदूत किमाथांका आएका बेला आफूहरूले अरुण नदी नेपालको भूमिमा पसेकाले पर्खाल लगाउन सहयोग माग गरेको स्थानीय निमाछेदर शेर्पाले बताए। 
वाणिज्यदूतले केही रकम सहयोग गर्ने आश्वासन पनि दिएका थिए।अध्यक्ष तेन्छेवीले नेपाली भूमि कटान सुरु भएको दुई वर्षभन्दा बढी भए पनि यसलाई रोक्न सरकारले कुनै पहल नगरेको बताए। जिल्लामा घुम्न आएका उपप्रधानमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, पूर्वअर्थमन्त्री रामशरण महतलगायतलाई समस्या अवगत गराए पनि कुनै सुनुवाइ नभएको उनले बताए।
 
'एक दर्जनभन्दा बढी उच्च ओहोदाका व्यक्तित्व किमाथांका आए तर कुनै चासो नदिएपछि हामीले रकम नै उठाएर जति सक्छौं तटबन्ध लगाउन पहल गरेका हौं', किमाथांका ४ का लाच्या नावाले भने, 'राज्यले तटबन्ध निर्माणमा तत्काल चासो नदिए किमाथांका ७ को हेमांथांका पूरै बग्ने पक्का छ।'
 
सबओभरसियर गायत्री घिमिरेले तटबन्धका लागि पाँच करोड रुपैयाँभन्दा बढीको स्टमेट गरिएको बताए। करिब तीन सय मिटर लामो तटबन्ध बनाएर अरुणलाई मोड दिन सकिने उनको भनाइ थियो।
 
किमाथांका गाविसका सचिव तारिणी घिमिरेले भने प्रस्तावित योजनालाई इलाका हुँदै जिल्ला परिषद् र केन्द्रसम्म पठाएको बताए। चीनले तिङ्गीसेनबाट रिउ हुँदै चाँगा बजारसम्म आउने सडक अरुण नदीको किनारमा तटबन्ध लगाएर निर्माण गरेको छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.