सरकारले तोकेको शुल्क निर्धारण निर्देशिका लागु नगर्ने विद्यालयहरुलाई कारबाही गर्न र अनुमति नलिई प्रकाशित प्याब्सनका पुस्तकहरु जफत गर्न शिक्षा मन्त्रालयले शिक्षा विभागलाई निर्देशन दिएको छ ।
शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले शिक्षा विभागका महानिर्देशक खगराज बराललाई सोमबार टेलिफोन गरी तत्काल बैठक बसेर कारबाहीको निर्णय गर्न निर्देशन दिएका हुन् ।
‘शुल्क निर्धारण निर्देशिका नमान्ने विद्यालयहरुलाई व्यवहारमा देखिने गरी आजै कारबाही गर्नुस्,’ मन्त्री पोख्रेलले शिक्षा विभाग प्रमुख बराललाई निर्देशन दिएको कुरा उद्धृत गर्दै मन्त्रालय स्रोतले अनलाइनखबरलाई भन्यो ।
मन्त्रीको निर्देशनअनुसार सोमबारै बिभागको बोर्ड बैठक बस्न लागेको स्रोतले बतायो । महानिर्देशक बरालले अनलाइनखबरसँग भने, ‘हामी नियमित बैठक बस्छौं । विधि विधान नमान्नेहरुलाई कारबाही हुने कुरा त स्वाभाविक हो नि ।’
शुल्क निर्धारण मापदण्ड अधिकांश निजी विद्यालयहरुले कार्यान्वयन गरेका छैनन् । नयाँ शैक्षिकसत्रमा निजी विद्यालयहरुले विद्यार्थी र तिनका अभिभावकहरुबाट मनोमानी शुल्क लिइरहेको पाइएको छ । छात्रवृत्तिको व्यवस्था कार्यान्वयन नगरेको लगायतका आरोप पनि निजी विद्यालयहरुमाथि लाग्ने गरेको छ ।
पुस्तकहरु जफत गर्न निर्देशन
पुस्तकहरु जफत गर्न निर्देशन
निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले गैरकानुनीरुपमा पाठ्यपुस्तक छापेर बिक्री वितरण गरेको पाइएको भन्दै मन्त्री पोख्रेलले ती पुस्तकहरु पनि जफत गर्न निर्देशन दिएका छन् ।
प्याब्सनले पाठ्यक्रम विकास केन्द्रको स्वीकृतिविना कक्षा १ देखि १० सम्म ‘प्याब्सन साइन्स’ नामक पुस्तक बिक्री वितरण गरेको थियो । ती पुस्तकमा ‘पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत’ भनेर लेखिएको छ । तर, केन्द्रका अधिकारीहरुले ती पुस्तकलाई स्वीकृति नदिइएको बताउँदै आएका छन् ।
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले यस अघि ‘प्याब्सन साइन्स’ पुस्तकहरुका केही प्रतिहरु शिक्षामन्त्री पोख्रेललाई बुझाउँदै कारबाही गर्न ध्यानाकर्षण गराएको थियो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...