-->
कोमामा नेपाली : जिम्मेबारी कस्को ?
Advertisement

 
आठ वर्षभन्दा लामो समयदेखि कतारको हमाद अस्पतालको कोमामा रहेका महेशपुर १ झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङलाई अस्पतालले नेपाल फर्काउन खोजिरहेको छ ।
दूतावासले भने नेम्वाङको परिवारसँग सम्पर्क नभएको कारण देखाउँदै अस्पतालको आग्रह टारिरहेको छ । दुर्घटना वा अन्य गम्भीर चोटपटक लागेर हमाद अस्पतालमा वर्षौंदेखि सघन उपचार गराइरहेका कामदारमा श्री एक्ला भने होइनन् ।
अस्पतालका अनुसार २० भन्दा बढी नेपाली कामदार वर्षौंदेखि उपचार गराइरहेका छन् । लामो उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएका वा सामान्य नर्सिङ केयरको मात्रै खाँचो रहेका कामदारलाई नेपाल पठाउन अस्पतालले वर्षौंदेखि पहल गरिरहेको छ ।
तर त्यस्तो पहल दूतावास र नेपालस्थित सम्बद्ध निकायको प्रभावकारी भूमिकाको अभावमा अडकिरहेको छ । न दूतावासले कामदार नेपाल पठाउने विषयमा कुनै स्वीकृति दिएको छ, न अस्पतालले सोझै कामदारका परिवारसँग सम्पर्क स्थापित गर्न सकेको छ । जसका कारण वर्षौंदेखि कोमामा रहेका नेपाली कामदार बेवारिसे बनेका छन् ।
अली रामदान ट्रेडर कम्पनीमा काम गर्ने श्रीबहादुर गाडीको ठक्करबाट घाइते भएपछि १९ भदौ २०६४ देखि कोमामा पुगे । कतारस्थित नेपाली दूतावासले नेम्वाङका परिवारलाई अझै फेला पार्न सकेको छैन ।
गत मंसिरमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रतिवेदनमा उनको परिवार पत्ता नलागेको तथा नाता प्रमाणितसम्बन्धी कुनै कागजात प्राप्त नभएको टिप्पणी लेखिएको छ । प्रतिवेदनमा छ, ‘२७ असार २०६९ मा श्रीको परिवारबारे नाता प्रमाणित गर्न कन्सुलर सेवा विभागमा पठाइएकोमा हालसम्म कागजात प्राप्त नभएको ।’
कान्तिपुरसँग टेलिफोनमा श्रीकी बहिनी भावना तामाङले दाइ कतार हिँडेको दुई वर्षपछि बाआमाको मृत्यु भएको र भाइ तथा दिदी आफ्नै आश्रयमा बसिरहेको बताइन् ।
भावनाले भनिन्, ‘दाइको अवस्थाबारे अनेकन मान्छेले अनेक कुरा सुनाइरहन्छन् । सम्झिँदा पनि मन रुन्छ ।’ उनका अनुसार बा र आमाको मृत्युपछि दाइको नाता प्रमाणितको कागज तयार पार्न नसक्दा सरकारी अभिलेखमा श्रीको परिवारका सदस्य नभेटिएका हुन् ।
सुकुम्बासी हैसियतका कारण श्रीका भाइ मनवीरे दाइलाई घरमा ल्याएर राख्न सक्ने अवस्थामा छैनन् । भावनाले गुनासो सुनाइन्, ‘ल्याएर मात्रै पनि के गर्नु ? कहाँ राख्नु ? कसले स्याहार गर्नु ? नियमित औषधिमुलो गर्न सक्ने हाम्रो आर्थिक अवस्था छैन ।’
श्री अरूले बोलेको कुरा बुझ्छन्, त्यसैअनुसार अनुहारको हाउभाउ पनि देखाउँछन् । उनलाई अस्पतालबाट भेटेर फर्केका नेपाली कामदार कमल बडालले भने, ‘उनी प्रतिक्रिया जनाउँछन्, तर बोल्न सक्दैनन् ।’
मस्तिष्कमा चोट पुगेका कारण उनलाई पक्षाघात भएको छ । तर उनको स्वास्थ्यमा पहिलेभन्दा धेरै सुधार आइसकेको छ । अस्पताल प्रशासनका अनुसार उनलाई थप उपचारभन्दा नियमित औषधि सेवन र स्याहारको मात्रै खाँचो छ । त्यही भएर अस्पताल उनलाई नेपाल फर्काउन खोजिरहेको छ । तर दूतावासले भने परिवारसँग सम्पर्क नभएको कारण देखाइरहेको छ ।
सोही अस्पतालमा १० असार ०६९ देखि उपचार गराइरहेका हरिबहादुर बस्नेतलाई पनि अस्पताल प्रशासनले नेपाल फर्काउन खोजिरहेको छ । तर बर्दिया रम्मपुर बस्ने हरिकी श्रीमती आफ्ना श्रीमान्लाई नेपाल ल्याएर कहाँ र कसरी राख्ने कुनै मेसो नभएको बताउँछिन् ।
कमजोर आर्थिक हैसियतकी उनले कान्तिपुरसँग टेलिफोनमा भनिन्, ‘अब श्रीमानको ठ्याक्कै कस्तो अवस्था छ भन्ने मलाई थाहा छैन । ल्याएर पनि अस्पतालमा राख्ने मेरो आर्थिक अवस्था छैन ।’
परिचय खुलेका र परिवारको सम्पर्क भएका बिरामीको त अन्योल छँदै छ । परिचय र ठेगाना नै नखुलेका थुप्रै बिरामी पनि हमाद अस्पतालमा लामो समयदेखि उपचाररत छन् ।
जसबारे न नेपाली दूतावास जानकार छ न नेपालस्थित सम्बद्ध निकाय नै । कान्तिपुरसँग सम्पर्कमा आएका हमाद अस्पतालका डाक्टरले आफ्नो परिचय नखुलाउने सर्तमा भने, ‘बिरामीको परिचय पत्ता लगाउने र उनीहरूको परिवारलाई थाहा दिने कामसम्म पनि नेपाली दूतावासले गर्न सकेको छैन । यो दु:खलाग्दो कुरा हो ।’
जस्तो कि, अस्पतालमा वर्षौंदेखि उपचार गराइरहेका भरत राम कुन जिल्लाका हुन् र उनको पूरा ठेगाना के हो भन्नेबारे कोही जानकार छैन । मंसिर अन्तिम साता परराष्ट्र मन्त्रालयले तयार पारेको कतारको अस्पतालमा कोमामा रहेका नेपालीहरूको सूचीमा पनि भरतको नाम समेटिएको छैन ।
शान्तिनगर दाङका २२ वर्षीय भक्तबहादुर रासकोटी मगर २७ चैत २०७० देखि कोमामा छन् । काम गरेर फर्किने क्रममा गाडीले ठक्कर दिँदा घाइते भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।
घटनाको दुई वर्ष बितिसक्दा पनि दूतावासले उनको परिवारका सदस्यलाई भेटेको छैन । आफ्ना प्रियजन वा परिवारका सदस्यका बारेमा कैयन् परिवारले वर्षौंदेखि यकिन तथ्य बुझ्न पाएका छैनन् ।
सौरपानी ७, गोरखाका कालु गुरुङ ७ भदौ २०६८ देखि कोमामा छन् । रियालाइन्स म्यानपावरबाट कतार पुगेको ६ महिनामै उनी दुर्घटनामा परेका थिए । उनी अरूले बोलेको सबै बुझ्न सक्छन् र प्रतिक्रियामा बोल्न पनि खोज्छन् तर आवाज निकाल्न सक्दैनन् ।
‘घर जाने कुरा निकाल्दा आँखाबाट आँसु निकाल्छन् । मुहार उज्यालो बनाउँछन्,’ अस्पतालमा बस्दै आएका गोर्खाका हुमबहादुर गुरुङ भन्छन्, ‘लैजान पो कोही तयार छैन ।’ कतारका लागि कार्यवाहक राजदूत मणिरत्न शर्माले कान्तिपुरलाई भने, ‘जबसम्म बिरामी बुझ्न अस्पतालबाट पत्र आउँदैन, तबसम्म पठाउन सकिँदैन ।’
शर्माका अनुसार नेपालको अस्पतालले बिरामीलाई राख्ने ग्यारेन्टी भएको पत्र दूतावासमा नपठाइकन अस्पताल बिरामी पठाउन तयार हुँदैन । तर अधिकांश कोमामा रहेको बिरामीका परिवारहरू आर्थिक रूपमा कमजोर र विपन्न समुदायका छन् ।
कोमामा रहेका कामदारलाई नेपालसम्म पठाइदिन र दुई महिनासम्मको उपचार खर्च बेहोर्न हमाद अस्पताल तयार भए पनि त्यसपछि के गर्ने भन्नेमा बिरामीका परिवारहरू अन्योलमा छन् । उचित सरकारी पहल नभएसम्म न बिरामीका परिवार आफ्नो मान्छे नेपाल झिकाउन तयार छन् न सरकारले नै त्यसका निम्ति कुनै वैकल्पिक उपाय निकालिसकेको छ ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले भन्छन्, ‘यो विषयमा प्रवर्द्धन बोर्डले मात्रै केही गर्न सक्दैन । स्वास्थ्य, परराष्ट्र, गृह र श्रम मन्त्रालयले एकीकृत पहल नगरेसम्म निकास निस्कँदैन ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.