राष्ट्र बैंकले एक वर्ष लगाएर ८ हजार २८ घर–परिवारमाथि अध्ययन गरेको थियो। मुलुकका ५५ जिल्लाका कुल ८४ बजार केन्द्रबाट तथ्यांक संकलन गरिएको बैंकले जनाएको छ।
परिवारको औसत मासिक खर्च २५ हजार ९ सय २८ मध्ये उपभोगमा २३ हजार ८ सय ८३ रुपैयाँ र गैरउपभोगमा २ हजार ४५ रुपैैयाँ सकिन्छ। कुल खर्चको ९२.११ प्रतिशत हिस्सा उपभोगमा खर्च हुने गरेको छ। पारिवारिक बजेट सर्वेक्षणले सहरी क्षेत्रका परिवारले अझ बढी खर्च गर्ने जनाएको छ। सहरी परिवारको मासिक खर्च २८ हजार ४ सय ७५ रुपैयाँ छ। त्यसै गरी ग्रामीण भेगमा प्रतिपरिवार २२ हजार ९ सय २८ रुपैयाँ खर्च हुने गरेको पाइएको छ।
सबैभन्दा बढी आम्दानी राजधानी काठमाडौंका परिवारको छ। काठमाडौंमा एउटा परिवारले औसत ३४ हजार ४ सय ११ रुपैयाँ आम्दानी गर्छ। त्यसै गरी अन्य सहरी क्षेत्रका परिवारको आय ३२ हजार ३ सय ३६ रुपैयाँ छ। सबैभन्दा कम आम्दानी हिमाली भेगका परिवारले गर्छन्। त्यहाँ परिवारको मासिक आम्दानी औसतमा २० हजार ७ सय ७६ रुपैयाँ छ। तराईमा प्रतिपरिवार २९ हजार ४ सय ७६ रुपैयाँ मासिक आम्दानी छ भने ग्रामीण क्षेत्रका परिवारले औसतमा २७ हजार ५ सय ११ रुपैयाँ कमाउँछन्।
राष्ट्र बैंकले २०७० फागुनदेखि २०७१ माघसम्म ८ हजार २८ परिवारको दैनिक आम्दानी र खर्च विवरण आधारमा यस्तो निष्कर्ष निकालेको अनुसन्धान विभागका प्रमुख एवं कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए। 'सर्वेक्षण वैज्ञानिक र व्यावहारिक भएकाले बढी यथार्थपरक छ,' उनले भने।
प्रत्येक परिवारको मासिक कुल खर्चमध्ये खाद्य तथा अल्कोहलरहित पेय पदार्थमा ९ हजार ४ सय २५ रुपैयाँ सकिन्छ। अल्कोहलयुक्त पेय, चुरोट तथा सुर्तीजन्यमा मासिक औसत २ सय ५६ रुपैयाँ खर्च भइरहेको सर्वेक्षणको निष्कर्ष छ।
कपडा, तयारी लुगा र जुत्तामा १ हजार ६ सय ९९ रुपैयाँ, घरभाडा, पानी, बिजुली, ग्यास तथा इन्धनमा ४ हजार ७ सय ९६ रुपैयाँ, स्वास्थ्योपचारमा ८ सय १९, यातायातमा १ हजार २ सय ६१ रुपैयाँ, सञ्चारमा ६ सय ६५ रुपैयाँ मासिक खर्च छ। त्यसै गरी नेपाली परिवारले मनोरञ्जन तथा संस्कृतिमा मासिक ५ सय ८१ रुपैयाँ, शिक्षामा १ हजार ७ सय ५० रुपैयाँ, रेस्टुरेन्ट तथा होटलमा ६ सय ९०र विविध वस्तु तथा सेवामा ९ सय २५ रुपैयाँ खर्च गर्ने गरेका छन्। यो उपभोग खर्च हो। एउटा परिवारले गैरउपभोगमा औसत २ हजार ४५ रुपैयाँ खर्चिने राष्ट्र बैंकको तथ्यांक छ।
0 comments
प्रतिक्रिया दिनुहोस्...