-->
राष्ट्रपति भण्डारी र पूर्वराष्ट्रपति डा. यादवबीच पारिवारिक नाता !
Advertisement

राष्ट्रपति भण्डारी र पूर्वराष्ट्रपति डा. यादवबीच पारिवारिक नाता !राष्ट्रपति भण्डारी र पूर्वराष्ट्रपति डा. यादवबीच पारिवारिक नाता !

डा.रामवरण यादव र विद्या भण्डारी दुवैले आफ्नो नाममा कीर्तिमान राखेका छन् । यादव नेपालको पहिलो राष्ट्रपति हुन् भने भण्डारी पहिलो महिला राष्ट्रपति । कांग्रेसबाट राजनीति सुरु गरेका यादवले पार्टी पदाधिकारी भएर सक्रिय पार्टी राजनीति टुंगो लगाए भने भण्डारी पनि एमालेको उपाध्यक्ष भएर सक्रिय राजनीतिबाट अलग भएकी छन् । सैद्धान्तिक रूपमा अलग विचार बोक्ने भए पनि भण्डारी र यादवबीच पारिवारिक नाता जोडिँदै छ । यादवकी भतिजी  किरण यादवका छोरा र राष्ट्रपति भण्डारीकी छोरीबीचको प्रेम सम्बन्ध विवाहमा परिणत हुने भएको छ ।

भण्डारी र यादवको कीर्तिमान
विद्या भण्डारीका लागि ११ कात्तिक २०७२ को दिन निकै भाग्यमानी रह्यो । त्यस दिन उनी संसद्बाट प्रथम महिला राष्ट्रपतिको रूपमा निर्वाचित भइन् । अर्थात् महत्त्वपूर्ण उपलब्धि थियो महिला आन्दोलनका लागि र नयाँ कीर्तिमान पनि । भण्डारीले १८ कात्तिकका दिन प्रधानन्यायाधीशमार्फत राष्ट्रपति पदको पद तथा गोपनियताको शपथग्रहण गरिन् । शीतलनिवासमा भव्य समारोहबीच आयोजित शपथग्रहणमा उपस्थित थिए राष्ट्रपति डा.रामवरण यादव । उनी सोही दिन साँझ ५ बजे ललितपुर निवासमा सरे । नेपालको इतिहासमा पहिलो राष्ट्रपतिको रेकर्ड बनाएका डा.यादव ८ साउन २०६५ मा निर्वाचित भएका थिए । राजनीतिक संक्रमणको जटिल परिस्थितिमा राष्ट्रपति भएका थिए उनी । संविधान जारी गर्नुपर्ने बाध्यात्मक अवस्थामा राष्ट्रपतिमा निर्वाचित उनले संविधान जारी गरेर राष्ट्रपति विद्या भण्डारीलाई कार्यान्वयनको जिम्मा हस्तान्तरण गरे । यो भेट दुवैका लागि महत्त्वपूर्ण दिन थियो । 

भण्डारीभन्दा यादव सिनियर
  प्रथम राष्ट्रपति डा.यादव र वर्तमान राष्ट्रपति भण्डारीबीच पहिलो भेट कहिले भयो भन्ने कसैलाई याद छैन । संयोगले २०५० सालपछि राजनीतिमा आइन् भण्डारी । तर, पूर्वराष्ट्रपति डा.यादव २०३७ सालअगाडि नै राजनीतिमा आइसकेका थिए । उमेरले पनि यादव निकै पाका हुन् राष्ट्रपति भण्डारीभन्दा । यादव २००३ साल र भण्डारी २०१८ सालमा जन्मिएकी हुन् । त्यसैले राजनीति सक्रियता पनि निकै पछि भएको हो भण्डारीको । सोही कारण उनीहरूबीच चिनापर्ची पनि निकै ढिला भयो । र, त्यस्तो घनिष्ट सम्बन्ध पनि यी दुईमा रहेन । 
कांग्रेस राजनीतिमा रहेका यादव भारतमा एमबिबिएस अध्ययन गर्दा बिपी कोइरला, गणेशमान सिंहको प्रभावबाट राजनीतिमा प्रवेश गरेका हुन् । तर, भण्डारी भने पति मदन भण्डारीको निधनपछि एमाले राजनीतिमा सक्रिय भएकी हुन् । अर्थात् संयोगले नेता भएकी हुन् भन्न सकिन्छ भण्डारीलाई । राजनीतिक सक्रियतामा निर्णायक भूमिकामा नरहेका दुवैजना विरासतको राजनीतिबाट आएका हुन् भन्दा फरक पर्दैन । कोइराला परिवारको विरासतबाट आएका हुन् यादव । बिपी कोइरालाको निजी चिकित्सकको रूपमा समेत रहेका यादव २०३७ सालपछि सक्रिय राजनीतिमै आए । ३ जेठ २०५० मा मदन भण्डारीको निधन भयो । उनको निधनपछि रिक्त काठमाडौं–१ को उपनिर्वाचनमा विद्या उम्मेदवार बनिन् र निर्वाचित हुन सफल भइन् । सो निर्वाचनमा उनले कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिइन् । ०५१ सालको मध्यावधि निर्वाचनमा सोही निर्वाचन क्षेत्रमा जितेपछि भने विद्याको व्यक्तित्व उचाइमा जान थालेको हो । 

उपनिर्वाचनमा चुनाव जितेपछि भण्डारी एकाएक चर्चामा
भण्डारी बल्लतल्ल राजनीतिमा स्थापित हुन लाग्दा पूर्वराष्ट्रपति डा.यादव भने स्वास्थ्यराज्यमन्त्री भइसकेका थिए । उनी २०४८ देखि २०५० सम्म नेपाली कांग्रेसको सरकारमा स्वास्थ्य राज्यमन्त्री थिए । २०५६ को संसदीय निर्वाचनमा कांग्रेसको उम्मेदवारको रूपमा प्रतिनिधिसभाका लागि निर्वाचित भएका थिए । 
भण्डारी २०५० सालमा सांसदमा निर्वाचित हुँदा विद्या प्रभावशाली नेतृका रूपमा देखा परेकी थिइनन्, उनले पति मदन भण्डारीको निधनपछि सहानुभूति पाएको विश्लेषण गरिएको थियो । तर, २०५४ सालमा भण्डारी वातावरण तथा जनसंख्यामन्त्री भइन् । त्यसले उनको राजनीतिक यात्रामा गतिलै फड्को मार्‍यो । ट्ेरड युनियन, महिला संघबाट उनको राजनीतिक प्रभाव पार्टीतिर विस्तार भयो । अखिल नेपाल महिला संघको संस्थापक अध्यक्ष भण्डारी नै भइन् । २०६६ सालमा रक्षामन्त्री भएपछि उनले नेपाली राजनीतिमा नयाँ रेकर्ड कायम गरिन् महिला प्रथम रक्षामन्त्री भएर ।   

पहिलो चिनापर्ची 
हुन त दुईबीच पहिलो चिनाजानी कहाँ कहिले भयो भन्ने यकिन छैन । भण्डारीको निकट रहेर लामो समय काम गरेका एमाले नेताहरूका अनुसार २०५० सालपछि मात्रै उनको डा.यादवसँग भेट भएको हो । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार २०५० सालको उपनिर्वाचनमा निर्वाचित भएपछि डा.यादवसँग चिनजान भएको हो । ‘त्यतिवेला डा.यादव स्वास्थ्यराज्यमन्त्री भएकाले स्वास्थ्यसम्बन्धी माग लिएर डेलिगेसनमा जाँदा भेट भएको हो,’ स्वकीय सचिव अधिकारीले नयाँ पत्रिकासँग भने ।
 एमाले महासचिव मदन भण्डारीको ३ जेठ २०५० सालमा दासढुंगामा निधन भएपछि नेपाली राजनीतिमा ठूलै हंगामा भयो । अझ एमालेले भण्डारीको हत्या भएको र त्यसमा कांग्रेसको हात रहेको आरोप लगाएको थियो । त्यतिवेला भण्डारीको श्रद्धाञ्जलीमा डा.यादव विद्या भण्डारीलाई भेट्न गए कि गएनन् भन्ने सम्झना राष्ट्रपति भण्डारीलाई छैन । एमाले नेताहरूका अनुसार त्यतिवेला भण्डारीले यादवलाई चिनेकी पनि थिइनन् । राज्यमन्त्री भइसकेकाले डा.यादवको छवि राष्ट्रियस्तरको बनेको वेला नामसम्म सुनेकी थिइन् भण्डारीले । ‘त्यतिवेला डा.यादव भेट्न आएकोबारे राष्ट्रपति भण्डारीलाई कुनै सम्झना छैन,’ अधिकारीले त्यतिवेलाको सन्दर्भबारे नयाँ पत्रिकासँग सम्झिए ।

मन्त्री हुँदा केही भेटघाट 
२०५६ सालपछि यादव पुन: स्वास्थ्यमन्त्री भए । त्यसभन्दा दुई वर्षअघि मन्त्री भएकी थिइन् विद्या । त्यसले गर्दा उनीहरूबीच स्टाटस भने समान बनेको थियो । यहीवेला हो यी दुईबीच अलिक बढी चिनापर्ची भएको । तर, एकअर्काबीच आत्मीय सम्बन्ध भने थिएन । राष्ट्रपति भण्डारी रक्षामन्त्री हँुदा सल्लाहकार रहेका सुवास देवकोटाको सम्झनामा पनि २०६३ सालभन्दा अघि डा.यादव र भण्डारीको आत्मीय सम्बन्ध हुने गरी चिनजान कहिल्यै भएन । हुन पनि त्यो वेला एमाले र कांग्रेसबीच राम्रो सम्बन्ध कहिल्यै बनेन । ‘पार्टीगत सम्बन्ध नै गतिलो र आत्मीय नभएको वेला भण्डारी र यादवको सम्बन्ध राम्रो हुने कुरा पनि थिएन,’ देवकोटाले नयाँ पत्रिकासँग भने । १८ असोज २०५८ पछि तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिन सुरु गरेपछि राजनीतिक दलहरू आन्दोलनमा निस्किए । त्यसवेला यादव कांग्रेसको सहमहामन्त्री भइसकेका थिए । पार्टीमा निर्णायक भूमिका निर्वाह गर्न नसके पनि तराई र कोइराला परिवारको विरासतसँग जोडिएर पार्टीमा प्रभाव पार्ने हैसियतमा भने थिए । जतिवेला भण्डारी एमालेका प्रभावशाली नेतृका रूपमा देखा परकी थिइनन् । 

आन्दोलनमा सँगसँगै 
१८ असोज २०५९ मा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरे । र, संसद् विघटन भयो । त्यहीवेला राजाले स्वच्छ छविको नेतृत्वको आह्वान गर्दै प्रधानमन्त्रीको खोजी सुरु गरे । त्यसपछि कांग्रेस, एमालेलगायतका दल प्रतिगमनविरुद्ध आन्दोलनमा लागे । त्यतिवेला कांग्रेस, एमाले, नेमकिपा, सद्भावना, जनमोर्चालगायत सात दल सहभागी थिए । त्यसकारण दुवै नेता पार्टीको निर्देशनअनुसार आन्दोलनमा सहभागी थिए । तर, सात दलको नेतृत्वमा राजाको कदमविरुद्धको आन्दोलनको रणनीति बनाउने वा सामूहिक छलफल गर्न शीर्ष तहका नेतामा दुवै पर्दैनथे । यादव सहमहामन्त्री थिए भने विद्या केन्द्रीय सदस्य । तर, पनि आन्दोलनको रणनीति बनाउने क्रममा सभापति गिरिजाप्रसाद कोइराला हावी हुन्थे । पार्टीको छलफलमा भने डा.यादवको उपस्थिति हुन्थ्यो । त्यसैले पनि यी दुई नेताबीच भेटघाट र छलफल हुने सन्दर्भ मिल्दैनथ्यो । उनीहरूको भेटघाट भनेकै मन्त्री भएका वेला जिल्लाका काम लिएर सांसदको हैसियतमा मन्त्रालयमा डेलिगेसनमा जाँदा मात्रै थियो । भण्डारी र यादवनिकट नेताहरूका अनुसार दुवै नेतावीच खास उल्लेख्य सम्बन्ध र भेटमा भएको छलफल वा अन्य कुनै अविष्मरणीय घटना छैन ।
rambaran-yadab गुटले अवसर पाएका नेताहरू 
पूर्वराष्ट्रपति डा.यादव २०४७ सालअघि भएका प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रूपमा लागिपरिरहे । आन्दोलनका क्रममा उनले नौ महिनासम्म जेलमा बिताए । तर, विद्या भण्डारीले जेल जीवनको अनुभव लिएकी छैनन् । २०४७ सालमा बहुदलीय प्रजातन्त्र घोषणापछि भएको प्रतिनिधिसभाको चुनावमा यादव धनुषा जिल्लाको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । त्यतिवेला गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईबीच तिक्ततापूर्ण सम्बन्ध थियो । यादव भने सधैँ कोइराला परिवारको पक्षमा उभिन्थे । २०४८ सालपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका वेला यादव स्वास्थ्यराज्यमन्त्री भएका हुन् । उनले २०५६ देखि २०५८ सालसम्म नेपालका स्वास्थ्यमन्त्रीको कार्यभार सम्हाले । यादवले कांग्रेसमा धेरै जिम्मेवारीपूर्ण पदहरू निर्वाह गरिसकेका छन् । उनी १५ वर्ष केन्द्रीय कार्यसमितिको सदस्यको रूपमा साथै संसदीय बोर्ड सदस्य र पार्टीको अनुशासन समिति सदस्य थिए । यो अवसर डा. यादवले आफ्नो क्षमताको अलावा कोइराला परिवारको विश्वासपात्रको हैसियतले प्राप्त गरेका थिए । 
 राष्ट्रपति भण्डारी पनि यस्तो अवसर पाउने कोटिमै पर्छिन् । राजनीति सुरु गर्दादेखि नै उनी पार्टीभित्र केपी ओली लाइनमा देखिएकी थिइन् । मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’ विचार निर्माणमा सहयोगी रहेको भन्दै केपी ओली भण्डारीको उत्तराधिकारीको रूपमा आफूलाई व्याख्या गर्थे । त्यसैले पनि भण्डारीले ओलीनिकटमा रहेर काम गरेकी हुन् । निरन्तर ओली पक्षमा लागेकै कारण भण्डारीले २०५४ सालमा जनसंख्यामन्त्री हुँदै २०६७ मा रक्षामन्त्री बन्न सफल भइन् भने २०७२ सालमा राष्ट्रपतिमा निर्वाचित भइन् । त्यसबाहेक पार्टीभित्र निरन्तर महिला संघको अध्यक्ष भइरहिन् भने पार्टीको उपाध्यक्ष पनि बनिन् । उनी ओलीको उत्तराधिकारीका रूपमा पार्टी अध्यक्षको लाइनमा पनि थिइन् । तर, एमालेको भागमा राष्ट्रपति पद परेपछि भण्डारी राष्ट्रपति बन्न सफल भएकी हुन् । अर्थात् पूर्वराष्ट्रपति यादव र वर्तमान राष्ट्रपति भण्डारीबीच एउटा समानता भनेको गुटमा लागेर अवसर पाउनु हो ।

२०६६ मा पहिलो महत्त्वपूर्ण भेट 
सेनापति प्रकरणका कारण २०६६ वैशाख २० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिए । प्रधानमन्त्रीले कारबाही गरेका प्रधानसेनापति रुक्मांगद कटवाललाई जोगाउन त्यतिवेला १८ दल लागेका थिए । ती दलले कटवाललाई जोगाइदिन आग्रह गर्दै २२ वैशाखमा राष्ट्रपति डा.यादवलाई भेट गरेका थिए । १८ दलको नेतृत्व भने एमाले नेतृ विद्या भण्डारीले गरेकी थिइन् । पूर्वराष्ट्रपति यादव र वर्तमान राष्ट्रपति भण्डारीबीचको पहिलो र महत्त्वपूर्ण भेट थियो त्यो ।


कटवाल प्रकरणपछि भण्डारी–यादव सम्बन्ध प्रगाढ

 २०६६ सालमा प्रधानमन्त्रीमा माधव नेपाल निर्वाचित भएपछि विद्या रक्षामन्त्री भइन् । त्यतिवेला नेपालको राजनीति निकै चर्चामा थियो कटवाल प्रकरणले । तत्कालीन प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाएपछि तात्तिएको राजनीतिक माहोलबाटै रक्षामन्त्री भन्ने अवसर आएको थियो विद्यालाई । त्यतिवेला राष्ट्रपति थिए यादव । प्रधानमन्त्री प्रचण्डले बर्खास्त गरेका प्रधानसेनापति कटवाललाई राष्ट्रपति डा.यादवले थमौती गरेपछि प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिए । अनि एमाले नेता माधव नेपाल प्रधानमन्त्री र विद्या रक्षामन्त्री भए । त्यतिवेला निरन्तर राष्ट्रपति यादव र रक्षामन्त्री भण्डारीबीच भेटघाट हुन्थ्यो । 
हुन त लाइन एजेन्सीको हिसाबले रक्षामन्त्री र राष्ट्रपतिको सन्दर्भ मिल्दैनथ्यो । प्रधानमन्त्रीय प्रणालीमा रक्षामन्त्रीले प्रधानमन्त्रीमार्फत जानुपर्ने हुन्छ । तर, विभिन्न सन्दर्भमा राष्ट्रपति यादव र रक्षामन्त्री भण्डारीबीच भेटघाट भइरहने गरेको त्यतिवेला भण्डारीको सल्लाहकार रहेका सुवास देवकोटाको भनाइ छ । ‘रक्षामन्त्रीले राष्ट्रपतिलाई भेट्ने प्रावधान त होइन, तर पनि सामान्य हिसाबले भेटघाट गर्न सबैले सक्छन्, त्यसैअनुसार भेटघाट हुने गरेको थियो,’ देवकोटाले भने । सेनाको मामिलाका अलावा राजनीतिक सन्दर्भमा पनि भेटघाटमा छलफल हुन्थ्यो दुई नेताबीच । त्यसवेला सेनाको सन्दर्भमा चर्चामा रहेकाले पनि भेटघाट निकै बाक्लो थियो । धेरैचोटि यादव र भण्डारीबीच भेटघाट र छलफल भएको सन्दर्भ सम्झिन्छन् देवकोटा । तर, के विषयमा छलफल हुन्थ्यो भन्ने थाहा नभएको देवकोटा बताउँछन् । त्यतिवेला चाडबाडको सन्दर्भमा पूर्वराष्ट्रपति डा.यादवले भण्डारीलाई शीतलनिवासमै बोलाउने गर्थे ।

 पछिल्लो भेट वैशाखमा
 राष्ट्रपति भण्डारी र पूर्वराष्ट्रपति डा.यादवबीच पछिल्लो भेट गत वैशाखमा भएको हो । पूर्वराष्ट्रपति यादवसँग अनुभव साटासाट तथा राजनीतिक परिस्थितिबारे छलफल गर्न भण्डारीले भेटघाट गरेकी हुन् । राष्ट्रपतिमा निर्वाचित भएको सात महिनापछि पहिलोपटक पूर्वराष्ट्रपतिसँग राष्ट्रपति भण्डारीले भेटवार्ता गरेकी हुन् । भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एकपटक भेटघाट भएको पूर्वराष्ट्रपति डा.यादवले बताए । ‘केही समयपहिला राष्ट्रपति भण्डारीसँग भेटघाट भएको थियो, त्यसबाहेक पछिल्लो समय भेट भएको छैन,’ डा.यादवले नयाँ पत्रिकासँग भने । 

पारिवारिक नाता जोडिँदै  
 प्रथम राष्ट्रपति डा.यादव र दोस्रो राष्ट्रपति भण्डारीबीच राजनीतिक मात्र होइन, अब पारिवारिक नाता पनि जोडिँदै छ । डा.यादव र भण्डारीबीच २०७३ सालमै पारिवारिक नाता जोडिन लागेको हो । राष्ट्रपति भण्डारीकी कान्छी छोरी र डा.यादवकी भतिजीको छोराबीच विवाह हुन लागेको हो । तर, बिहेको मिति भने पक्का भइसकेको छैन । पूर्वराष्ट्रपति यादवकी छोरी किरण यादवका छोरा इन्जिनियर अभिषेक यादव र भण्डारीकी कान्छी छोरी डा. निशाकुसुमबीच लामो समयदेखि प्रेम सम्बन्ध छ । किरण कांग्रेसकी सांसद हुन् । अभिषेक यादव अहिले लन्डनमा अध्ययनरत छन् । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार दुईबीच लामो समयदेखिको प्रेम सम्बन्ध गत वर्ष मात्रै परिवारले थाहा पाएको हो । त्यसैकारण सकेसम्म यसै वर्ष विवाह गर्ने सोचमा परिवार रहेको यादवनिकट परिवारले जानकारी दिएको हो । अभिषेक यादव र निशाकुसुमबीच विवाह भएमा डा.यादव राष्ट्रपति भण्डारीको नाताले सम्धी पर्छन् ।


Advertisement
,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.