-->
पैसामा साटिँदै छ नैतिकता
Advertisement

पैसामा साटिँदै छ नैतिकता

श्रीप्रसाद प्रसाईं

बुझ्नेका लागि नैतिकता जीवनकै सबैभन्दा ठूलो र गौरवको विषय मानिन्छ । धनसम्पत्ति गुमे पुनः मिहिनेत र परिश्रम गरी आर्जन गर्न सकिन्छ । साथीसँगी गुमे अपरिचितसँग पनि भ्रातृत्व र स्नेह भावना विस्तार गरी पुनः मित्रता गाँस्न सकिन्छ, तर नैतिकता गुमे न त मिहिनेत गरेर पुनः आर्जन गर्न नै सकिन्छ, न त धनसम्पत्तिले किन्न नै पाइन्छ, न आपसी सम्बन्ध विस्तारबाटै पुनःस्थापित गर्न
सकिन्छ । यसैले, नैतिकता अमूल्य हुन्छ र जीवनमा एकपटक गुमिसकपछि पूर्ववत् रूपमा पुनः प्राप्त गर्न सकिँदैन । यसर्थ, नैतिकता मानिसलाई वास्तविक मानिसकै रूपमा परिचित गराउने, सबैको सम्मानको पात्र बनाउने तथा राष्ट्रमा मात्र होइन, व्यक्तिलाई अन्तर्राष्ट्रिय जगत्सम्म नै सम्मानित गराउने सर्वश्रेष्ठ गुण वा व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति हो । जसको कुनै मूल्य हुँदैन, यो अमूल्य हुन्छ । नैतिकताको यही गरिमा र महŒवलाई बुझेर वैदिक युगमै हाम्रा ऋषि महर्षिहरूले नैतिकता सूचक मन्त्रहरूको सूत्रपात गरे, आफ्नो संसर्गमा आउनेलाई यसबारेको ज्ञान दिलाए । आफैं आदर्श नैतिकताकै अनुपम उदाहरण बनी अरूका निम्ति प्रेरणा स्रोत बन्न पुगे, नैतिक शिक्षाको महŒवबारे मन्त्रहरू प्रतिपादन गरी प्रचारप्रसार गराए तथा सिंगो समाजलाई नै नैतिकवान् बनाउने प्रयास गर्दै आए । वैदिक युगदेखि नै अवलम्बन हुन थालेको यही नैतिक शिक्षाको प्रभाव अहिलेसम्म पनि समाजमा परिरहेको छ । तर, पछिल्लो समयमा यो ह्रासोन्मुख अवस्थामा पुग्दै छ । समाजमा बढ्दै गएको कलह र अशान्ति, अपराध र अराजकता, सन्त्रास र आतंक एवं स्वेच्छाचारिताजस्ता सामाजिक विकृतिहरू नैतिकता ह्रासकै उपज हुन् ।
समसामयिक रूपमा हुँदै आएको परिवर्तन र आधुनिकताले व्यक्ति र समाजलाई नै आपसी प्रतिस्पर्धामा उतार्दै आएको छ । यही प्रतिस्पर्धाले अहिले व्यक्तिलाई एकातिर सफलताकै शिखर चढाउँदै छ भने अर्कोतर्फ सफलताको लालसाले व्यक्तिकै तर्फबाट पालन गर्नुपर्ने मानवीय मूल्य मान्यतालाई गौण ठान्दै आएको छ । यति मात्र होइन, कतिपय आधारभूत सामाजिक मूल्य र मान्यता नै आधुनिकताको बाधक ठानिँदै छन् । सफलतासँगसँगै विकसित हुन पुगेका यस्तै नकारात्मक पक्षहरूका सन्दर्भमा मानिस संवेदनशील बन्न सकेको छैन । एकअर्काबीचको प्रतिस्पर्धाले छरछिमेकीसँगको सम्बन्धमा असर पु¥याएको छ, सामाजिक सद्भाव बिथोलेको छ । पारस्परिक एकता टुक्र्याउँदै छ, आत्मीयता र सौहार्दतालाई अलग्याएर व्यक्तिलाई नै एक्लो बनाउँदै छ । आफूलाई मात्रै महŒवपूर्ण ठान्ने अरूलाई वास्ता नगर्ने व्यक्तिवादी दृष्टिकोणले सफलता प्राप्त गरेको भए पनि सामाजिक आडभरोसाविनाको त्यस्तो सफलता चिरस्थायी हुन सक्दैन भन्ने कुरालाई व्यक्तिले महŒव दिन छोडेको छ । यस क्रममा कतिपयले नैतिकताको आदर्शलाई नै गुमाइरहेका छन् । यसैको दुष्परिणाम छिमेकीले छिमेकीको वास्ता नगर्ने, आपत्विपतमा सहयोगी नबन्ने, एकले अर्कोलाई नचिन्ने, अन्तरात्माबाट नभई ओठे भक्ति देखाउने, व्यक्ति समाजबाटै अलग्गिँदै जाने, सामाजिक एकतामा खलल पुग्ने मात्र होइन, सामाजिक संरचनामा नै असर पर्दैै आएको छ । यसलाई आपसी प्रतिस्पर्धाकै नकारात्मक असरको रूपमा लिन सकिन्छ । यो नैतिकता ह्रासबाटै परेको सामाजिक प्रभाव हो ।
यसैगरी, मुलुक सञ्चालन गर्ने राजनीति र त्यसको प्रयोगकर्ता वा नेतृत्वकर्ताहरू नैतिकताको अनुपम आदर्श नमुना बनेमा समाजबाट नैतिकता ह्रास हुन पाउँदैन । नैतिकवान् व्यक्तिले राज्य सञ्चालन गरे समाजका हरेक सदस्यसम्म त्यसको स्वतः सकारात्मक प्रभाव पर्दछ । तर, हाम्रो मुलुकको सन्दर्भमा नैतिकता ह्रासको गलत नमुना राज्य सञ्चालकबाटै प्रस्तुत हुँदै आएको पछिल्लो दृष्टान्तले समाजलाई नै नकारात्मक रूपले प्रभावित बनाउँदै आएको छ । पदमा पुगिसकेपछि आफूलाई सर्वेसर्वा ठान्ने, आफूलाई सो स्थानमा पु¥याउने जनताप्रतिको जिम्मेवारी बिर्सने, देश र जनताप्रति इमानदार नहुने, जनप्रतिनिधिको हैसियतले गर्नुपर्ने आधारभूत दायित्व पूरा नगर्ने, आफैंलाई शक्तिशाली ठान्ने, नीतिगतभन्दा स्वेच्छाचारी प्रविधि अँगाल्ने, व्यक्तिगत स्वार्थलाई नै सर्वोपरी ठान्ने नेताको कार्यशैलीको गलत नमुना मातहतका नेता–कार्यकर्ता हुँदै अहिले समाजसम्म नै विस्तारित भइरहेको देखिन्छ । समाजलाई प्रभावित बनाउने नैतिकता ह्रासको यो पछिल्लो दृष्टान्त हो । गाउँटोलदेखि इलाका, क्षेत्र र जिल्ला हुँदै केन्द्रसम्म राजनीतिक दलहरूको संगठनात्मक शृंखला व्यवस्थित र मजबुत हुने भएकाले दलीय गतिविधि एवं नेताको सकारात्मक वा नकारात्मक काम कार्यको प्रभाव उतिखेरै केन्द्रबाट गाउँ स्तरसम्म फैलन पुग्छ । यसका साथै जनविश्वास प्राप्त नेताहरू नै नैतिकवान् बने वा मातहतका कार्यकर्तादेखि मतदातासम्मलाई उच्च नैतिक शिक्षा प्रदान गरी समाजलाई नै आदर्श समाजमा रूपान्तरण गर्न उल्लेख्य भूमिका निभाउने उत्तम र प्रभावकारी माध्यमका रूपमा लिइने राजनीतिक दल र नेताहरूकै क्रियाकलाप अनुकरणीय हुनुपर्नेमा नेतृत्वकर्ताहरू नै नैतिकता विमुख बन्दै गएको विद्यमान अवस्थामा उनीहरूकै गलत प्रवृत्तिको अनुशरणले समाजलाई नै प्रभावित बनाउँदै आएको हुँदा नैतिकता धराशायी हुँदै गएको छ ।
प्राचीनकालमा गुरुकुल शिक्षा नैतिक शिक्षाको अनुपम नमुना मानिन्थ्यो । गुरुकै आश्रममा बसेर विद्यार्थीहरूले शिक्षा ग्रहण गर्दथे । गुरुहरू पनि आफ्ना चेलालाई कसरी आदर्श शिक्षा प्रदान गरी दक्ष बनाउन सकिन्छ भन्ने कुरामा दत्तचित्त रहन्थे । गुरु र चेलाबीचको सम्बन्ध अत्यन्त सम्मानजनक र स्नेह भावमा आधारित हुन्थ्यो । जनसंख्या वृद्धि सँगसँगै शिक्षा आर्जन गर्ने चेलाको संख्या वृद्धि हुँदै गएपछि आश्रममै शिक्षा प्रदान गर्न गुरुलाई पनि समस्या हुँदै गयो । गुरुकुल शिक्षा पनि क्रमशः पाठशाला, शिक्षालय, विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा परिणत हुँदै आए । गुरु र चेला पनि शिक्षक, प्राध्यापक, र विद्यार्थीमा परिणत हुन पुगे । तथापि, आधुनिक शिक्षण संस्थाहरूलाई प्राचीन गुरुकुलकै परिवर्तित स्वरूप मानिन्छ । शिक्षा प्रदान गर्ने र ग्रहण गर्ने शिक्षक र विद्यार्थीको सम्बन्ध पनि गुरुकुल युगीन गुरु र चेलाबीचकै सम्बन्ध जस्तो प्रगाढ र आत्मीयतामा आधारित हुनुपर्दछ भन्ने मान्यता यथावत् भए पनि व्यवहारमा अहिले यस्तो सम्मानित एवं स्नेहपूर्ण भावना ह्रासोन्मुख हुँदै छ । विद्यार्थी दक्ष बनाउनेतर्फ शिक्षक नै संवेदनशील नहुने, विद्यार्थीलाई एक आदर्श नागरिककै रूपमा समाजमा उभ्याउने आफ्नो दायित्व शिक्षकले पूरा नगर्ने, केवल औपचारिकतामा आधारित शिक्षा प्रदान गर्ने, आफूले प्रदान गरेको शिक्षाले विद्यार्थीको आचरण र व्यवहार परिवर्तन ल्यायो÷ल्याएन ? ऊ प्रशिक्षित भयो÷भएन ? भन्ने कुराको शिक्षकले अनुगमन नगर्ने तथा आफ्नै चेलाहरूप्रति कुदृष्टि राख्ने परिपाटीले नैतिक शिक्षामा ह्रास पु¥याउँदै छ । शिक्षककै व्यवहार विद्यार्थीले अनुशरण गर्नु कुनै अनौठो कुरो होइन, यसले गर्दा शिक्षक र विद्यार्थीको नाता सम्बन्ध केवल औपचारिकतामा सीमित हुँदै गएको छ । एकअर्काबीचको आत्मीयता हराउँदै छ । अझ शिक्षककै गलत व्यवहार र आफ्नै विद्यार्थीसँगको अवैध सम्बन्ध र हेलमेलले विद्यार्थी टाढिएका मात्र होइनन्, शिक्षककै गलत आचरणको प्रभावले कतिपय विद्यार्थीहरू नै चरित्रहीन बन्न पुगेका देखिन्छन् । व्यक्तिको नैतिक चरित्रप्रति प्रश्न उठ्ने यस्ता असामान्य घटना शिक्षण संस्थामा फाटफुट रूपमा देखा पर्ने भए पनि त्यसले उतिखेरै हजारौं विद्यार्थीमा नकारात्मक असर पार्दछ । यो पनि नैतिकता ह्रासको पछिल्लो अर्को दृष्टान्त हो ।
समाज वा शिक्षण संस्थामा मात्र होइन, घरपरिवारमा समेत अहिले नैतिकता ह्रासोन्मुख हुँदै गएको छ । सामाजिक संसर्ग र देखासिकीको प्रभावले पछिल्लो पुस्तालाई प्रभावित बनाउँदै छ । परम्परागत सामाजिक संस्कारलाई उपेक्षा गर्ने, पारिवारिक मानमर्यादा बिर्सने, आफैंलाई सर्वज्ञ ठान्ने तथा नैतिकताको बन्धनलाई नै आधुनिकताको बाधक ठान्ने प्रवृत्ति नयाँ पुस्तामा विकसित भइरहेको छ । यसले व्यक्तिलाई समाजबाट मात्र होइन, परिवारबाटै एक्लो बनाउँदै छ । नयाँ पुस्ताको आधुनिक विचार शैली लागू हुने अवस्थामा अहिले हाम्रो समाज पुगिसकेको छैन । ८० प्रतिशतभन्दा बढी जनसंख्याले परम्परागत रीतिविराज र संस्कारलाई नै अवलम्बन गर्दै आएको वर्तमान परिप्रेक्ष्यमा अल्पसंख्यक नयाँ पुस्ताको दृष्टिकोण पुरानो पुस्ता रहेसम्म लागू हुने अवस्थामा छैन । यही कारणले कतिपय आधुनिक रीतिरिवाज हाम्रो समाजमा भित्रिएका भए पनि मान्य हुन सकेका छैनन् । गुरुकुलकै शिक्षा पद्धतिबाट प्रभावित जनसमूहकै बाहुल्य अद्यापि रहँदै आएकाले अधिकांशले नैतिकतालाई नै सर्वोपरि ठान्दै आएका छन् । तथापि नैतिकतालाई गौण ठान्ने प्रवृत्ति बढ्दै आएकाले यसले चुनौती निम्त्याएको कुरालाई भने स्वीकार गर्नैपर्दछ । नैतिकताविरुद्धका गतिविधि हुन र गर्न नपाउनेतर्फ समाजदेखि परिवारसम्मकै सम्पूर्ण सदस्य एकत्रित बन्नुपर्ने अवस्था आइसकेको छ । हाम्रो मुलुकमा मात्र होइन, आधुनिकताको शिखरमा पुगिसकेका कतिपय पाश्चात्य विकसित देशमा पनि नैतिकतालाई उत्तिकै महŒवपूर्ण ठानिन्छ । नैतिकताकै परिधिभित्र रहेरै उक्त मुलुकहरू विकसित भएका छन् । यसको दृष्टान्तकै लागि एउटा जर्मनेली उखानलाई हेरौं, ‘चरित्र एउटा सेतो कागजजस्तै हो, जसमा दाग लागेपछि मेट्न गाह्रो हुन्छ ।’ नैतिकताको निम्ति यो उखान जर्मनेली जनताका लागि मात्र होइन, विश्व समुदायकै लागि अनुशरणीय मानिन्छ ।
वास्तवमा सेतो कागजमा लागेको दाग मेटाएर कागजलाई नच्याती पूर्ववत् रूपमै कञ्चन अवस्थामा पु¥याउन सकिँदैन । दाग मेट्ने क्रममा कागजमा प्वालै पर्न सक्छ वा दाग लागेको भाग पूर्ववत् रूपमा सफा हुनै सक्दैन । व्यक्तिको निम्ति नैतिक चरित्र पनि त्यस्तै हो, एकपटक नैतिक चरित्र गुमाएको व्यक्तिप्रतिको सामाजिक दृष्टिकोण पूर्ववत् रूपमा स्वच्छ बन्न सक्दैन । तर, अमूल्य मानिँदै आएको यही नैतिकतालाई पछिल्लो समयमा विनिमयको साधन बनाइँदै छ । स्वार्थमा नैतिकताको सम्झौता गरिन्छ । यति मात्र होइन पैसामा नैतिकता बेचिँदै छ । धनसम्पत्तिकै मोहले नैतिकता गौण ठानिँदै छ । सम्पत्ति नै सर्वोपरि ठान्ने प्रवृत्तिले राजनीतिज्ञ, समाजसेवी, उद्योगपति वा व्यापारी मात्र होइन, शिक्षक, विद्यार्थीदेखि परिवारकै सदस्यले पनि अहिले पैसामा नैतिकता साट्दै छन् । समाजमा खलल ल्याउने अहिलेको प्रमुख कारण यही हो ।
नैतिकता ह्रासकै उपजका रूपमा अहिले समाजमा स्वेच्छाचारिता बढ्दै आएको छ । आफ्नो र पराइ, मेरो र अर्काको ठान्ने व्यक्तिवादी प्रवृत्तिले सामाजिक सद्भाव बिथोल्दै छ । सम्पूर्ण समाजलाई नै आफ्नो ठान्ने उदारवादी मानवीय दृष्टिकोण निजी स्वार्थले विस्थापित गराउँदै छ । ‘यो आफ्नो, ऊ पराई भन्ने भेदभाव सानो चित्त भएका मानिसहरूको मात्र हुन्छ । उदार चरित्र भएका मानिसहरूका लागि त पृथ्वी नै आफ्नो हुन्छ’ भन्ने हितोपदेशमा उल्लिखित कुरा मानिसको व्यवहारबाटै पुष्टि हुँदै आएको छ । मिहिनेत र पसिनाले आर्जन गरेको सम्पूर्ण जायजेथा मृत्युपर्यन्त साथै लैजाने आशयले उत्पन्न भएको व्यक्तिको लालची व्यवहारले समाज र परिवारकै सदस्यलाई नै पराई बनाउँदै छ । नैतिकता बन्धकमा राख्ने प्रवृत्तिले जीवनभर आर्जन गरेको इज्जत र प्रतिष्ठालाई व्यक्तिले क्षणभरमै गुमाउँदै छ । सदाचार, धैर्य र संयम अभावकै कारण आर्जन गरेको इज्जत र प्रतिष्ठालाई नै व्यक्तिले जगेर्ना गर्न सकेको छैन । समाजमा बिरलै व्यक्ति पाइन्छन्, जसले आफूले जीवनभर प्राप्त गरेको प्रसिद्धिलाई यथावस्थामा जगेर्ना गरेका छन् । अन्यथा सम्मान र प्रसिद्धिको शिखरमा पुगेका अधिकांश व्यक्तिहरू पनि क्रमशः आलोचना र घृणाकै पात्र बन्न पुगेका देखिन्छन् । समाजमा यो अवस्था देखापर्नुको प्रमुख कारण नै नैतिकताको ह्रास हो, यसर्थ सदाचार, आदर्श आचरण एवं नैतिकता बन्धकमा राख्ने होइन, यसलाई संरक्षण र जगेर्ना गर्न नैतिक शिक्षाको आवश्यकता समाजमा अहिले महसुस हुँदै आएको देखिन्छ ।
धनसम्पत्तिकै मोहले नैतिकता गौण ठानि“दै छ । सम्पत्ति नै सर्वोपरि ठान्ने प्रवृत्तिले राजनीतिज्ञ, समाजसेवी, उद्योगपति वा व्यापारी मात्र होइन, शिक्षक, विद्यार्थीदेखि परिवारकै सदस्यले पनि अहिले पैसामा नैतिकता साट्दै छन् । समाजमा खलल ल्याउने अहिलेको प्रमुख कारण यही हो ।

 


Advertisement
,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.