-->
‘हेपाटाइटिस सी’ र यसको उपचार :-
Advertisement

सरकारले उपचारमा सहयोग गर्ने हो भने हेपाटाइटिस सी रोगलाई मुलुकबाट उन्मूलन गर्न सकिन्छ ।

 नेपालमा ‘हेपाटाइटिस बी’ को चर्चा निकै हुने गर्छ तर उत्तिकै खराब, कलेजो बिगारेर ‘लिभर सिरोसिस’ गर्न सक्ने ‘हेपाटाइटिस सी’ को चर्चा कम हुने गर्छ । यसमा केही कारण हुन सक्छ । पहिलो, हेपाटाइटिस बी एड्सभन्दा पनि डरलाग्दो भनेर चित्रित गरिन्छ । दोस्रो, वैदेशिक रोजगारमा जान खोज्नेहरू हेपाटाइटिस बी देखिएको कारणले जान पाएनन् भन्ने बढी सुनिन्छ । तेस्रो, हेपाटाइटिस सी कुनै समूहविशेषका व्यक्तिमा देखिने हुनाले अन्य समूहमा चर्चा नभएको हुन सक्छ ।
देशभरिको स्थिति हेर्ने हो भने हेपाटाइटिस बीभन्दा हेपाटाइटिस सी संक्रमित व्यक्तिहरू कम छन् । देशका विभिन्न रक्तदान केन्द्रमा गरिएको परीक्षण गर्दा ठाउँ हेरी ०.१ देखि ०.७ प्रतिशत संक्रमण पाइएको छ । हाम्रो देशमा हेपाटाइटिस सी संक्रमित व्यक्तिहरूमध्ये ८० प्रतिशत कुनै न कुनै बेला लागू पदार्थ दुव्र्यसन गरेको पाइन्छ । सन् २०१२ को तथ्यांक विभागको आँकडाअनुसार नेपालमा ९१,००० लागू पदार्थ दुव्र्यसनी रहेछन् । त्यसैले अहिलेको अवस्थामा करिब १ लाख ५० हजार संक्रमित छन् भन्ने अनुमान छ । हेपाटाइटिस सीको उपचार गर्दैमा निको नहुने र उपचारपछि पनि फर्किन सक्ने भएकाले यसको उपचार गर्ने कि नगर्ने भन्ने द्विविधा धेरैमा पाइन्छ । तर अचेल प्रयोग हुने औषधिका ‘साइड इफेक्ट’ एकदमै कम, प्रयोग गर्न सजिलो, निको हुने सम्भावना धेरै भएकाले हेपाटाइटिस सीको उपचार गर्न आउनेको संख्या बढ्दै गएको छ ।
हेपाटाइटिस सीका प्रमुख छ ‘जेनोटाइप’ हरू हुन्छन्, १–६ सम्म । नेपालमा अधिकांश बिरामीहरू जेनोटाइप ३ र १ का पाइन्छन् । जेनोटाइपअनुसार प्रयोग गर्ने औषधिहरू फरक फरक हुन्छन् । जेनोटाइपबाहेक यसले कलेजोमा ल्याएको कडापन, लिभर सिरोसिस भए नभएको, लिभर सिस्रोसिस भइहालेको स्थितिमा त्यसको असर हेरी औषधिको समय तोकिन्छ । सामान्यतया यसको उपचार १२ हप्ता (३ महिना) हुने गर्छ भने बढीमा २४ हप्ता (६ महिना) गर्नुपर्ने हुन्छ ।
हेपाटाइटिस सीको पहिचान सन् १९८९ मा भएको हो । १९९० देखि यसलाई जाँच्ने प्रविधि विकास भएको थियो भने १९९२ देखि विश्वासिलो जाँच्ने तरिकाहरू विश्वभर उपलब्ध हुन थालिसकेका थिए । अनि १९९१ मै यसको उपचार पत्ता लागिसकेको थियो तर त्यसबाट भाइरस निर्मूल हुने सम्भावना निकै कम हुने गथ्र्याे । राइबाभेरिन भन्ने औषधि पत्ता लागेपछि हेपाटाइटिस सीको उपचारमा आमूल परिवर्तन आउन थालेको हो । इन्टर्फेरोन र राइबाभेरिन– दुई औषधिको प्रयोगपछि ५० प्रतिशतसम्म बिरामीमा सफल उपचार भएको देखियो । इन्टर्फेरोन इन्जेक्सन हप्तामा तीनपटक दिनुपथ्र्याे भने राइबाभेरिन दिनको दुई पटक खानुपथ्र्याे । नेपालमा यी दुई औषधी प्रयोग गरेर उपचार भयो/ भएन, त्यसको तथ्यांक छैन । सन् २००१ पछि पेगाइलेटेड इन्टर्फेरोनको आविष्कारसँगै हेपाटाइटिस सीको उपचारमा नयाँ आयाम थपियो । हप्ताको तीन इन्जेक्सनबाट एक इन्जेक्सन र ‘साइड इफेक्ट’ हरू पनि निकै कम भएका कारण उपचार गर्नेहरू पनि बढे । यी दुई औषधि प्रयोग गरेर हेपाटाइटिस सीको उपचार मैले प्रथम पटक सन् २००४ मा गरेको हुँ । त्यसपछि हेपाटाइटिस सीको उपचार नेपालमा विधिवत् रूपमा सुरु हुन थालेको हो ।
सन् २०१३ देखि हेपाटाइटिस सीको खाने औषधिहरू बजारमा उपलब्ध हुन थाले । नेपालमा भने औषधि व्यवस्था विभागले मार्च २०१५ देखि नयाँ औषधि सोफोसबुभिर चलाउन अनुमति दियो र तत्पश्चात् हेपाटाइटिस सीको उपचारमा नयाँ आयाम थपिन गयो । जेनोटाइप ३ का बिरामीहरूमा इन्टर्फेरोन इन्जेक्सन लगाउनुपर्ने बाध्यता सकियो र साइड इफेक्टरहित उपचार हुन थाल्यो । विकसित मुलुकलाई पछ्याउँदै गत जनवरीदेखि नेपालमा अर्को औषधि डाक्लाटास्भिर पनि भित्रियो । यसपछि छ महिना उपचार गर्नुपर्ने जेनोटाइप ३ लाई तीन महिनामै उपचार गर्न मिल्ने भयो । समयका साथै पैसाको पनि बचत हुने भयो । यसको प्रयोगपछि उपचार गरेका बिरामीहरू शतप्रतिशत निको भएका छन् । यी औषधिहरू भारतमा भन्दा पनि नेपालमा चाँडै आएकाले भारत र अन्य केही मुलुकबाट पनि बिरामीहरू आएर उपचार गर्दैछन् ।
हेपाटाइटिस सीको उपचारमा अर्को फड्को मारेको मिति हो– सेप्टेम्बर २०१५ । सोफोसबुभिर र डाक्लाटास्भिर एउटैमा भएको औषधि प्रयोग गर्न औषधि व्यवस्था विभागबाट अनुमति प्राप्त भयो । यो औषधि आएसँगै नेपालमा इन्टर्फेरोन प्रयोग बन्द भयो र जेनोटाइप १ का बिरामीले १२ हप्तामात्रै औषधि खाएर निको हुने अवस्था आयो । सन् २००४ सालमा २० लाख खर्च गरेर उपचार गर्नुपर्ने रोग २०१५ मा १ लाख १० हजारमा उपचार गर्न सकिने भयो ।
अहिले आएका नयाँ औषधिहरूको प्रयोगबाट सफल उपचार हुनेको संख्या प्रत्येक दिन बढ्दो छ । साइड इफेक्टहरू पनि नगन्य हुनाले बिरामीहरूमा उपचार गराउने मनसाय बढेको पाइन्छ । अब उपचारका लागि रोक्न सक्ने कुरा एउटै हुन सक्छ, पैसा । अझ पनि यो रोगको उपचार सामान्य आय भएको मानिसको पहुँचभन्दा बाहिर छ । तीन महिनाको उपचार खर्च करिब १ लाख पर्छ भने उपचारअघि र पछिको जाँच गर्न २५–३० हजार खर्च हुन्छ । समयमै हेपाटाइटिस सीको उपचार गर्नाले घातक रोग लिभर सिरोसिस र क्यान्सरबाट बचाउन सकिन्छ । लिभर सिरोसिस र क्यान्सरका बिरामीहरूलाई सरकारले सहयोग गर्नु त ठीकै हो तर
हेपाटाइटिस सीका बिरामीलाई उपचार गर्न सहयोग गरे धेरै राम्रो हुने थियो । उपचारपछि निको हुने सम्भावना ९८–९९ प्रतिशत हुने भएकाले सरकारले उपचारमा सहयोग गर्ने हो भने यो रोगलाई मुलुकबाट उन्मूलन गर्न सकिन्छ ।
हेपाटाइटिस सी मुक्त देशहरूमा नेपाललाई पहिलो बनाउन हामी सबै मिलेर लाग्ने कि ?


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.