-->
निगालोका सामान विस्थापित गर्याे प्लाष्टिकले, सीप मर्ने डर
Advertisement

जेठ २८ – बजारमा सस्तोमा पाइने प्लाष्टिक र टिनका सामानहरु गाउँ गाउँमा पुग्न थालेपछि मौलिक र परम्परागत सीपबाट बनाइएका निगालोका सामानको प्रयोग घट्न थालेको छ । रोटी राख्ने छाप्रा, अन्न राख्ने भकारी, पाथी, सुप्पा, डोइल्या र खार्या, भुईमा ओच्छयाउने मान्द्रो, पल्को तथा वर्षा झरीबाट ओत दिनका लागी बनाइने मुना पाल्ताको ठाउँ देख्खा झिलिमिली र सस्तो मूल्यमा पाइने र प्रयोग गर्न पनि सजिलो हुने प्लाष्टिक र टिनका सामानले लिन थालेपछि निगालोको काम गरेर जिविका चलाउँदै आएका केही गाउँका मानिसहरुको पेशा नै संकटमा परेको छ ।
केही वर्ष अघि जिल्लाका उत्तरी क्षेत्रका गाविस रिलु, मष्टा, दांतोला, मेलविसौना र कांडाका अधिकांश बासिन्दा निगालोका सामान बनाउने र जेठ र कार्तिकको महिनामा विभिन्न गाउँ डुलेर आफूले बनाएका सामानलाई अन्नसँग साट्ने तथा नगद लिएर बेच्ने गर्दथे । बजारका सामानहरु सस्तोमा पाउन थालेपछि आफूहरुले बनाएका निगालोका सामान बिक्न छाडेको बताउँदै रिलुका मिनबहादुर बोहराले भन्नुभयो, ‘पहिला जस्तो बिक्री नै हुँदैन । सबैका घर घरमा टिनका भकारी राखेका छन् । हुँदा हुँदा रोटी राख्ने छाप्रा समेत प्लाष्टिकका आउन थालिसके ।’
निगालोको सामान बिक्न छाडेपछि उहाँको गाउँका धेरै जसोले यो व्यवसाय नै छाडी सकेको बताउँदै रिलु गाविस वडा नम्बर ४ का जय बहादुर रोकायाले भन्नुभयो ‘पहिला पहिला त हाम्रो गा“उका सबैले निगालोको काम गर्थे । बिक्न छाडेपछि सबै भारततिर लागेका छन् । कोही कोहीले मात्र यो काम गर्छन् ।’ सामानहरु बिक्री हुन छोडेपछी निगालोको विभिन्न सामान बनाउने सीप पनि हस्तान्तरण हुन छोडेको उहाँको भनाई छ । आफूले १० वर्ष पुग्दा नपुग्दै निगालोको सामान वनाउन सिकेको बताउने उहाँले सिप लोप हुनेमा चिन्ता गर्दै भन्नुभयो ‘आजकाल त कोही सिक्न पनि चाँहदैनन् । सिकाउनेले पनि सिकाएर के गर्नु ? बिक्री हुँदैन भनेर सिकाउँदैनन्’ उहाँले भन्नुभयो, ‘पहिला पहिला एक भारी निगालोबाट बनेका सामान बिक्रीका लागी ल्याएको खण्डमा एक दिनमा नै बिक्री हुन्थ्यो । अहीले एउटा बिक्री गर्न हप्ता भन्दा बढी लाग्छ ।’
निगालोका सामानको प्रचलन हराउँदै गएसँगै प्लाष्टिक र टिनका सामानको व्यापार भने बढेको व्यापारीहरु बताउँछन् । डोकोमा प्लाष्टिकका सामग्री बोकेर गाउँ गाउँमा घुम्ती व्यापार गर्दै आएका भारत विहारका जगदीश यादवले दैनिक सरदर २ हजार ५ सय सम्मको व्यापार हुने गरेको बताउनुभयो । निगालोको सामान महंगो हुने र टिन र प्लाष्टिकका सामान सस्तो हुने भएकोले बजारमा प्रतिस्पर्धा गर्न नसकेर धेरैले यो पेशा छोडेको घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत हरिभगत श्रेष्ठले बताउनुभयो ।
‘सामानको महत्व बुझ्नेले त निगालो कै सामान किन्ने गर्छन्’ उहाँले भन्नुभयो, ‘सबैले सामान चिन्दैनन जुन सस्तो र आर्कषक छ त्यही किन्छन् । त्यसैले निगालोको सामानको व्यापार कम भएको हो’ निगालोको सामानलाई बजार सुहाउँदो बनाउन तालिम समेत सञ्चालन गरे पनि बजारमा प्रतिस्पर्धा गर्न नसक्दा यो पेशा प्रति मानिसको आर्कषण घट्दै गएको उहाँले बताउनुभयो । प्लाष्टिक र टिनकोभन्दा निगालोबाट बनेका सामानहरु स्वस्थकर समेत भएको श्रेष्ठको भनाई छ ।उज्यालोअनलाइनबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.