-->
परराष्ट्रमन्त्री दिल्ली भ्रमणमा : के-के गर्दैछन् ३ दिन ?
Advertisement

परराष्ट्रमन्त्री दिल्ली भ्रमणमा : के-के गर्दैछन् ३ दिन ?

जेष्ठ २६, २०७३- साउथ एसियन विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन यही शुक्रवार भारत आउने उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको भ्रमण नेपाल– भारत सम्बन्ध सुधार तथा दुई देशवीच रहेको असझदारी हटाउने विषयमा केन्द्रित हुने भएको छ ।   
सार्क मन्त्रिपरिषको हैसियतले दीक्षान्त समारोहमा भाग लिन थापा आउन लागेपनि सो भ्रमणलाई द्विपक्षीय सम्बन्ध सुधार गर्ने अवसरको रुपमा लिंदै नेपाल र भारत दुवैले उच्च प्राथमिकता दिएका छन् ।  
राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द भएपछि पहिलोपटक दुवै देशबीच उच्चस्तरमा राजनीतिक भेटघाट हुन लागेको हो । “परराष्ट्रमन्त्रीका भ्रमणको क्रममा राष्ट्रपति भ्रमण रद्द र मधेस समस्या समाधानलगायतका विषयमा उत्पन्न भ्रम चिर्न केन्द्रित रहने छ,” स्रोतले भन्यो ।
तीन दिने भारत भ्रमणको क्रममा थापाले उच्चस्तरको राजनितिक भेटघाटका साथै भारतीय कुटनीतिज्ञ, विश्लेषक तथा वरिष्ठ पत्रकारहरुसँग नेपाल–भारत सम्बन्धको विषयमा अन्तरक्रिया कार्यक्रम तय भएको छ ।
कान्तिपुरलाई अनौपचारिकरुपमा प्राप्त जानकारीअनुसार दिल्ली आएकै दिन शुक्रबार तीन बजे इन्डियन प्रेस क्वलमा भारतका ठूला संचार माध्यममा वरिष्ठ पत्रकारहरुमाझ अन्तरक्रिया गर्नेछन् । “नेपाल—भारत सम्वन्ध विविध आयामहरु बारेमा पत्रकारहसँग अन्तरक्रिया कार्यक्रमको आयोजन गर्न लागेका हौ”, इन्डिन प्रेस क्वलका एक पदाधिकारी ज्योति मल्होत्राले कान्तिपुरलाई बताइन् । यद्यपि भ्रमणको औपचारिक तालिका भने बिहीबार सार्वजनिक गर्ने परराष्ट्र मन्त्रालयको रहेको छ ।  
सोही दिन चार बजे भारतको पुरानो थिङ्कट्यांक अव्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) ले नेपाल–भारत सम्वन्धबारे आयोजन गर्ने कार्यक्रममा सहभागी हुनेछन् । जहाँ भारतका उच्च कुटनीतिज्ञ तथा बिभिन्न क्षेत्रका व्यक्तिहरुसँग थापाको साक्षात्कार हुने छ । कार्यक्रममा थापाले नेपाल–भारत सम्वन्धका बारेमा प्रवचन दिनेछन् ।
शनिवार दीक्षान्त समारोहमा भाग लिएलगत्तै थापाको महत्वपूर्ण भेटघाट सुरु हुने कार्यक्रम तय भएको छ । सो दीक्षान्त समारोहमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज समेत सहभागी हुने छिन् ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग परराष्ट्रमन्त्री थापाको भेटघाट तय भइसकेको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट हुने प्रवल सम्भावना छ ।  ‘मोदीसँग भेटघाटको आश्वासन पाएपनि समय एकिन भइसकेको छैन्’, स्रोतले  भन्यो ।
विभिन्न देशको भ्रमण सकेर मोदी विहिवार स्वदेश फर्केपछि मोदीसँगको भेटघाट समय यकिन हुने अधिकारीहरुको भनाइ छ ।
त्यसैगरी सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसँग पनि भेटघाटको पहल भइरहेको जानकारी अधिकारीहरुले दिएका छन् तर शाह अहिले दिल्लीमा नरहेका कारण भेटघाटको समय तय भइसकेको छैन । स्रोतका अनुसार काँग्रेस आइका अध्यक्ष सोनियाँ गान्धीसँग पनि भेटघाटको लागि पहल भइरहेको छ ।




Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.