-->
आँगन–आँगनमा धुर्मुस
Advertisement


भूकम्प पीडितहरूको एकीकृत नमुना बस्ती निर्माणका अभियन्ता कलाकार सीताराम कट्टेल (धुर्मुस) सहयोग जुटाउन शनिबार गृह जिल्ला झापा आइपुगे ।
उनले झापाको बिर्तामोड, सुरुंगा र दमकमा सञ्चारकर्मी र संघसंस्थाका अगुवाहरूसँग छलफल गरे ।
उनले आफ्नो महत्त्वाकांक्षी सपना पूरा गर्न झापाको ठूलो सहयोग रहने बताए । ‘अब २ करोड चाहिएको छ, त्यसैले आफ्नो आँगनमा सहयोगको हात फैलाएर आएको छु,’ सीतारामले भने, ‘आशा छ सबैले भित्रैदेखि सहयोग गर्नुहुनेछ ।’
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ को गिरानचौरमा उनले ६५ वटा नमुना घर बनाइरहेका छन् ।
भूकम्प प्रतिरोधी घर, सामुदायिक भवन र पार्कहरू पनि बन्नेछन् । ‘सबै वाल र अपांग मैत्री हुनेछन्,’ उनले भने । त्यसका लागि करिब चार करोड बढी रकम चाहिएको छ । यसअघि उनले काभ्रेको पहरी गाउँमा पहिलो एकीकृत नमुना बस्ती बसालिसकेका छन् । यसमा करिब ७० लाख खर्च भयो । ५० लाख जति जुटाए । बाँकी गोजीको खर्च गरे ।
उनले बर्खा लागिसकेकाले तत्कालै २ करोड आर्थिक सहयोग संकलन नभए पुनर्निर्माणको कार्य रोकिन सक्ने जानकारी गराउँदै जतिसक्दो चाँडो सहयोग गरिदिन अनुरोध गरे ।
सरकारले भूकम्प गएको एक वर्षसम्म पुनर्निर्माणको काम सुरु गरेकै छैन । सीताराम भने घरपरिवार त्यागेर अभियानमा सक्रिय छन् ।
आवश्यक सहयोग चाँडै जुटे आगामी घटस्थापनाको दिन दोस्रो एकीकृत नमुना बस्ती भूकम्प पीडितलाई हस्तान्तरण गर्ने उनको लक्ष्य छ । उनले बिर्तामोडमा पत्रकारसँग भने, ‘नि:स्वार्थ र पवित्र कार्यलाई सहयोग गर्नुस् ।’
धुर्मुसले एक सातायता पूर्वका विराटनगर, इटहरी, बिर्तामोड, दमक, सुरुंगा लगायतका स्थानमा गरिएको आग्रहअनुसार सहयोग जुट्न थालेको बताए । झापाका कृष्णप्रसाद, विष्णुप्रसाद र अर्जुनप्रसाद दाहाल परिवारले १ लाख ४० हजार, सुनसरीको इनरुवा नगरपालिकाले १ लाख ११ हजार १ सय ११, उद्योग वाणिज्य संघ सुनसरीले २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
यसअघि अमेरिकामा बस्दै आएका डिण्डु लामाले ६ लाख र जापानमा बस्दै आएका कृष्णप्रसाद खत्रीले ५ लाख रुपैयाँ सहयोग गरेका छन् । विदेशमा बस्ने कलाकार र उनका फ्यानहरूले समेत धमाधम सहयोग पठाइरहेका छन् ।


Advertisement
,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.