-->
मुक्तिनाथमा भारतीय दर्शनार्थी आउने क्रम बढ्यो
Advertisement

पोखरा, १८ जेठ । हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा भारतीय दर्शनार्थी बढेका छन् ।
मुक्तिनाथ दर्शनका लागि भारतका विभिन्न प्रान्तबाट आउने भक्तजनको सङ्ख्या केही दिनयता निकै बढिरहेको मुक्तिनाथका मूल पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो । भारतबाट बर्सेनि वैशाख जेठको समयमा भक्तजन आउने गरेको बताउँदै सुवेदीले गत वर्ष भूकम्पका कारण भक्तजन प्रभावित भएको बताउनुभयो ।
नेपालका चार धाममध्येको एक मानिने मुक्तिनाथ दर्शनपछि बैकुण्ठवास भइन्छ भन्ने जनविश्वासका कारण भारतलगायतका विभिन्न राष्ट्रबाट दर्शनार्थी मुक्तिनाथ आउने गर्छन् । मुक्तिनाथ मन्दिरभित्र विष्णु, लक्ष्मीनारायण, भूदेवीका मूर्ति रहेका छन् । हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल भएका कारण पनि हिन्दू र बौद्ध धर्मावलम्बी मुक्तिनाथ दर्शन गर्न आउने गर्छन् ।
हिन्दूका पुजारी र बौद्धका झुमाले त्यहाँ आ–आफ्नै परम्पराअनुसार पूजा गर्ने चलन छ । मुक्तिनाथ र गुम्बामा झुमाले पूजा र रेखदेख गर्छन् भने हिन्दू पण्डितले आरती र पुष्पाञ्जली गर्छन् । समुद्री सतहबाट तीन हजार ७१० मिटरको उचाइमा रहेको सो मन्दिरलाई हिन्दूहरूले मुक्तिक्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्साका रुपमा लिन्छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.