राक्षस होस् या देवता होस् या कुनै सामान्य मानिस नै किन नहोस्, शिवजी आफ्ना भक्तलाई कहिल्यै पनि भेदभाव गर्दैनन्। यदि कसैले सच्चा मनले उनलाई याद गर्छन् र स्तुती गर्छन् भने शिवजी उसबाट सजिलै प्रसन्न हुन्छन् र उनको हर मनोकामना पुरा गरिदिन्छन्। यसैकारण शिवका भक्तहरू उनलाई ‘भोलेनाथ’ भन्ने गर्छन्।
हिन्दु धर्मग्रन्थमा यस्ता कैयौँ कथाप्रसङ्गहरू उल्लेख छन् जहाँ शिवजीले भयङ्कर राक्षसलाई समेत शक्तिशाली वरदान दिएका छन्।
१. भष्मासुरको वरदान
कुनै समयमा भष्मासुर नामको एक राक्षस दुनियाकै सबैभन्दा शक्तिशाली असुर बन्न चाहन्थे र दुनियाको शासन गर्न चाहन्थे। भष्मासुर शिवजीका भक्त पनि थिए। त्यसैले शिवलाई खुसी बनाउन उनले कडा तपस्या गर्ने विचार गरे।
भष्मासुरको कडा तपस्या र ध्यान देखि शिव प्रसन्न भए र तपस्या गरिरहेकै ठाउँमा आई भष्मासुरलाई वरदान माग्न आदेश दिए। भष्मासुरलाई पनि संसारको शासन गर्नुथियो र त्यो तब मात्रै सम्भव हुन्छ जब ऊ अमर बन्छ। यसैले उनले शिवसँग अमर हुने वरदान मागे।
शिवले यो असम्भव हुन्छ, जसले जन्म लिन्छ उसको मृत्यु निश्चित हुन्छ भनेर भष्मासुरलाई अर्कै वरदान माग्न भने। भष्मासुरले पनि त्यसको बदला ‘जसको शिरमा हात राख्छु ऊ भष्म भै जाओस्’ भनेर वरदान मागे। शिवले पनि ‘तथास्तु’ भने।
भष्मासुरलाई यो वरदान मिल्ने बित्तीकै सुरुमा शिवलाई नै आफ्नो शिकार बनाउने विचार गरे। फेरि शिवले आफुले दिइसकेको वरदान फिर्ता लिन पनि सक्दैनथे, त्यसैले शिव स्वयं भष्मासुरबाट ज्यान बचाउनको लागि यताउता भाग्न थाले।
भष्मासुरबाट भाग्दै गर्दा शिवले सहयोगको लागि भगवान विष्णुलाई सम्झिए। शिवजीको आह्वान सुनेर भगवान विष्णु एक सुन्दर अप्सराको रूप धारण गरी भष्मासुरको अगाडि आइपुगे।
आफ्नो अगाडि यति राम्री अप्सरा देखा परेपछि भष्मासुरको होस नै गुम्न पुग्यो, उसले आफ्नो लक्ष्य नै बिर्सिए। योभन्दा पहिले भष्मासुरले यति सुन्दर स्त्री कहिल्यै देखेका थिएनन्। भष्मासुरले त्यस स्त्रीरूपी विष्णुलाई सोधे ‘तिम्रो नाम के हो सुन्दरी?’ जवाफमा स्त्रीले भने कि उसको नाम ‘मोहिनी’ हो।
मोहिनीलाई देखेर भष्मासुर मोहित भैसकेका थिए र उसँग विवाहको प्रस्ताव राखे। मोहिनीले भने- “मसँग नाच्छौ भने मात्रै म तिमीसँग विवाह गर्छु।” भष्मासुरले पनि यो कुरा स्वीकारे।
त्यसपछि मोहिनीले नृत्यु गर्दै गइन्, ऊसँगै भष्मासुर पनि नाच्दै थिए। यत्तिकैमा मोहिनीले आफ्नो हात टाउको माथि लगिन्। मोहिनीले गरेअनुसार नै भष्मासुरले पनि आफ्नो हात टाउको माथि लगे र आफै भष्म हुन पुगे।
२. गुरु शुक्राचार्यको वरदान
मत्स्यपुराणमा पनि शिवको वरदानको रोचक कथाप्रसङ्ग उल्लिखित छ।
राक्षसहरूका गुरु शुक्राचार्यले कठोर तपस्या गरी शिवजीलाई प्रसन्न गराए र शिवले उनलाई सारा देवताहरूलाई मार्न सक्ने वरदान दिए। भगवान शिवले उनलाई पुरै संसारको धनकोषको अध्यक्ष पनि बनाइदिएका थिए। यसै वरदानको कारण शुक्राचार्य सबैलोकको सम्पत्तीको स्वामी बनेका थिए र सोहि धन देवताहरूको बरबादीको लागि उपयोग गर्न थालेका थिए।
विष्णुपुराणमा शिवजीले शुक्राचार्यलाई मृतसञ्जीवनी विद्याको वरदान दिएको उल्लेख गरिएको छ। यसै वरदानको मद्दतले शुक्राचार्यले युद्धमा मारिएका सारा दैत्यहरूलाई जीवित बनाएका थिए, जसको कारण देवताहरूले हार मान्नुपरेको थियो।
0 comments
प्रतिक्रिया दिनुहोस्...