चालकमाथि गोली प्रहार
वीरगन्ज: बाराको महागढीमाई नगरपालिकामा पर्ने पसाहा पुलनजिकबाट बिहीबार साँझ भारतीय हतियारधारी समूहले वीरगन्जका एक उद्योगपतिलाई अपहरण गरेको छ ।
अपहरणकारीले उद्योगपतिका सवारी चालकलाई गोली हानेर घाइते पनि बनाएका छन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ७ घर भएका केडिया अर्गनाइजेसनका सञ्चालक सुरेश केडियालाई भारतीय बन्दुकधारीले अपहरण गरेका हुन् ।
केडियालाई अपहरण गर्ने क्रममा भारतीय बन्दुकधारीले केडियाका सवारी चालक पर्सा विन्दवासिनी गाविस वडा नम्बर २ घर भएका ३४ वर्षीय उमेश साह कानुलाई गोली हानेर घाइते बनाएका छन् ।
चालक कानुको दाहिने कन्चटमा गोली लागेको छ । गोली लागेर गम्भीर घाइते भएका चालक कानुको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
बाराको बरियापुरमा रहेको आफ्नो चामल उद्योगमा कामविशेषले बिहीबार दिउँसो गएका उद्योगपति केडिया साँझ बा १० च ७२४० नम्बरको कारमा वीरगन्ज स्थित घरतर्फ फर्कने क्रममा बाराको महागढीमाई नगरपालिकास्थित पसाहा पुल नजिकबाट साँझ साढे ६ बजे अपहरणमा परेका हुन् ।
भारतीय नम्बर प्लेटको सेतो रङको स्कोर्पियो गाडीमा आएका चारजना हतियारधारीले केडियालाई अपहरण गरेका हुन् ।
उनीहरूले केडियाका सवारी चालक कानुलाई गोली हानेपछि केडियालाई आफ्नो गाडीमा राखेर बाराको कबहीगोठ नाका हुँदै भारततर्फ लिएर गएको नारायणी अञ्चल प्रहरी कार्यालय वीरगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नारायणसिंह खड्काले बताए ।
हतियारधारी समूहले उद्योगपति केडियालाई अपहरण गरेर बाराको कबहीगोठ नाका हुँदै सीमावर्ती भारतीय गाउँतर्फ लगेको सूचना अएकाले भारतसँग जोडिएका बाराका सीमानाकाहरू सिल गरेर खोजी सुरु गरिएको बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बताए ।
अपहरणकारीले केडियालाई कबहीगोठ नाका हुँदै भारततर्फ लगेको खबर आएको छ', उनले भने, ‘सम्भावित सबै नाका सिल गरेर खोजीकार्य जारी छ । उद्योगपति केडियाको गाडी भने घटनास्थलमै फेलापरेको प्रहरीले जनाएको छ ।
अपहृत सुरेश केडिया वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाका दाजु हुन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...