-->
के आँखा पनि अल्छी हुनसक्छ ?
Advertisement

के आँखा पनि अल्छी हुनसक्छ ?

 

ananda
डा. आनन्द शर्मा, आँखा रोग बिशेषज्ञ
नेपालमा २०४६ सालको जनआन्दोलनपश्चात स्वास्थ्य क्षेत्रको विकासमा पनि    उल्लेख्य प्रगति भएको पाइन्छ । हालैका केही वर्षहरुमा स्वास्थ्य प्रदायक संस्था तथा मेडिकल कलेजको संख्यात्मक वृद्धिले स्वास्थ्य क्षेत्रका विभिन्न विधामा दक्ष जनशक्तिको संख्यात्मक तथा गुणात्मक वृद्धि उत्साहजनक अवस्थामा छ । तर पनि नेपाली समाजमा व्याप्त गरीबी, अशिक्षा तथा अन्धविश्वासले गर्दा मानव स्वास्थ्यसम्बन्धी जनचेतनाको विकास यथोचित मात्रामा हुन सकिरहेको छैन । यसैगरी आँखा स्वास्थ्यसम्बन्धी जनचेतनाको पनि कमी नै छ । यसै परिप्रेक्षमा आज हामी ‘अल्छी आँखा’का विषयमा चर्चा गर्न गइरहेका छौं ।
आँखा पनि अल्छी हुन्छ भन्ने कुरा सुन्दा  हामीमध्ये धेरै जनालाई अचम्म लाग्न सक्छ । मान्छे पो अल्छी हुन्छ, आँखा पनि कहिं अल्छी हुन्छ र ? हो आँखा पनि अल्छी हुन्छ । अल्छी आँखालाई चिकित्सा विज्ञानको भाषामा एम्बलोपिया भन्ने गरिन्छ । हाम्रो बोलीचालीको भाषामा अल्छी आँखालाई लेजी आई भनिन्छ । सामान्य रुपले बाहिरबाट हेर्दा अल्छी आँखा स्वस्थ आँखा झै देखिन्छ । तर यसको दृष्टि क्षमता सामान्य आँखा भन्दा कमजोर हुन्छ । अल्छी आँखा भएको व्यक्तिले मधुरो देख्छ । उनीहरूमा  कहिलेकाहि डेढोपन पनि हुनसक्छ । सामान्यतयाः दृष्टि दोष भएको आँखाले चश्मा प्रयोग गरेपछि सामान्य व्यक्तिले भैmं स्पष्ट देख्नसक्छ । तर, अल्छी आँखा भएको  व्यक्तिले चश्माको प्रयोग गर्नासाथ सामान्यले झैं देख्न सक्दैन । तसर्थ, अल्छी आँखाको पहिचान र उपचार  कलिलो उमेरमा नै हुनु अत्यन्त जरुरी छ । त्यसैले बालबालिकाको सामान्य आँखा जाँच स्कूल भर्ना गर्नु अगावै गर्नु वेश हुन्छ ।

eye
 आँखाको दृष्टि क्षमताको विकास

नवजात शिशुले जन्मने वित्तिकै देख्न सक्दैन । केही समयपछि ऊ विस्तारै आँखा उघार्ने र बन्द गर्ने क्रियाकलाप गर्न थाल्छ । त्यसपछि क्रमशः उज्यालो र अँध्यारो महशुस गर्नसक्ने हुन्छ । १–२ हप्तापछि विस्तारै आँसुुको उत्पादन सुरु हुन्छ । त्यसबाट आँखालाई ओसिलो र कर्नियालाई चम्किलो राख्न मद्धत पुग्छ । केहि महिना पछि शारिरिक वृद्धि सँगै आँखाको साईज, कर्निया, लेन्स, रेटिना आदिको विकास हुदै जान्छ । त्यसपछि शिशुहरुले आमाको अनुहारमा हेर्ने, चिन्ने साथै उज्यालो र आवाजको दिशातर्फ हेर्ने गर्छन् ।

खासगरी  शिशुको आँखाको बनोट र  दृष्टि क्षमताको विकास २ वर्षको उमेरसम्म तिव्र गतिले हुने गर्दछ । करिब ७  देखि  ८ वर्षको उमेर पुगिसकेपछि भने वयश्क व्यक्तिको सरह आँखाको दृष्टि परिपक्क भै सकेको हुन्छ । कलिलो उमेरमै कुनै कारणले बालवालिकाको आँखामा  दृष्टि क्षमताको विकासमा अवरोध पुग्न गएमा भविष्यमा यी वालवालिकाको दृष्टि क्षमता कमजोर हुन्छ । त्यसैगरी ससाना केटाकेटीमा दृष्टिदोषको उपचार नभएमा पनि एउटा वा दुवै आँखाको दृष्टि क्षमतामा कमी हुन जान्छ र उनीहरू अल्छी आँखाको शिकार बन्न पुग्छन् ।

अल्छी आँखा कसरी चिन्ने ?

अल्छी आँखाका विशेष लक्षण हँुदैनन् । अल्छी आँखाको दृष्टि कमजोर हुने हुनाले कमजोर आँखा नै त्यसको प्रमुख लक्षण हो । यसबाहेक आँखाको गेडी दुख्ने र चाँडै थाक्ने, एकछिन पढ्ने बित्तिकै मधुरो देख्ने, टाउको दुख्ने र आँशु बग्ने हुन्छ । पढ्ने बेला किताबलाई आँखा नजिकै लैजाने, आँखा चिम्सो पार्ने र कहिलेकाहि डेढो हेर्ने हुन्छ । नजिकै गएर टेलिभिजन हेर्ने लक्षण देखाएमा अल्छी आँखाको शंका गर्न सकिन्छ । अल्छी आँखालाई ४ भागमा वर्गीकरण गरिन्छ ।
कलिलो उमेरमा दृष्टिदोषको उचित उपचार नहुनु, एउटा आँखाको पावरभन्दा अर्को आँखाको पावर ज्यादै भिन्न हुनु, डेढोपनको पहिचान र समुचित उपचार नहुनु, भिटामिन ए को कमी तथा कर्नियाको संक्रमण हुनु, आँखाको चोटपटक तथा फूलो पर्नु , सही पावर अनुसारको चस्मा प्रयोग नगर्नु, उमेर अनुसारको चस्माको पावर समायोजन गर्न नसक्नु नै अल्छी आँखा हुनुका प्रमुख कारण हुन् । यी बाहेक जन्मजात मोतिविन्दुको शल्यक्रिया नहुनु र मोटो चश्मा नलगाउनु, परेली झर्ने समस्याको उपचार नगर्नु आदि कारण पनि छन् ।

 सम्भव छ त उपचार ?

अल्छी आँखाको उपचार गर्नु अगावै सम्बन्धित विषेशज्ञद्वारा आँखाको बिस्तृत परीक्षण गरेर मात्र शुरु गर्नुपर्छ । खासगरी दृष्टि परीक्षण, माक्रोस्कोपद्वारा आँखा जाँच , चस्माको पावर जाँच, अर्थोप्टिक्स जाँच र  कलर भिजन परीक्षण  गर्नुपर्छ । केटाकेटीको आँखामा औषधि हालेर नानी फुलाई गरिने पावर जाँच गर्नुपर्ने भएकोले आँखासम्बन्धी सम्पूर्ण जाँच पूरा गर्नका लागि अस्पताल जानुपर्ने हुन्छ ।

उपचार विधि

अल्छी आँखाको उपचार विधि विशेष किसिमको हुन्छ । यिनीहरुमध्ये तीन किसिमका उपचार पद्दति प्रभावकारी हुन्छन् । एउटा उपचार पद्दति अर्कोको विकल्पको रुपमा  नभएर एक अर्काका परिपूरक हुन् ।

 १) चश्मा लगाइ उपचार गर्ने विधि

नियमित चश्मा लगाउनाले वालवालिकामा स्पष्ट देख्नसक्ने क्षमताको क्रमिक विकास हुँदै जान्छ ।  चश्माको नियमित प्रयोग तथा भिजन थेरापी गरी अल्छी आँखाको उपचार गर्न सकिन्छ । तिनीहरुलाई आखाँको प्रयोग गराएर अर्थात् पढ्ने, लेख्ने, कम्प्युटर चलाउने, गेम खेल्ने, चित्र कोर्ने, रंग भर्ने दृष्टिसँग सम्बन्धित क्रियाकलाप गराएर दृष्टिमा सुधार गर्न सकिन्छ । उमेर बढ्दै जाँदा चश्माको पावर पनि परिवर्तन गर्नुपर्ने हुनाले चिकित्सकको सल्लाह अनुसार अभिभावकहरुले नियमित रुपले अस्पतालमा जाँच गराउनु पर्छ । केटाकेटीहरुले चश्माको शिशा कोर्ने, भाँच्ने, फुटाउने आदि गर्ने हुनाले चश्माको सुरक्षा र मर्मत–सम्भारमा पनि अभिभावकले उत्तिकै ध्यान दिनु जरुरी हुन्छ ।

२) आँखामा पट्टी लगाउने विधि

यो उपचार विधि अल्छी आँखाको उपचारको प्रभावकारी विधि हो । अल्छी मान्छेलाई बढी काममा जोतेजस्तै अल्छी आँखालाई बढी समय खुल्ला राखि काममा लगाएर अर्को सामान्य आँखालाई पट्टीले छोपेर (आरम दिएर) उपचार गरिन्छ । आँखामा पट्टी कसरी लगाउने हो भन्ने चाहिँ अभिभावकलाई राम्रो सिकाउनु पर्छ । एकपटकमा एउटा आँखामा मात्र पट्टी लगाउने गरिन्छ । कुन आँखामा पट्टी लगाउने? दिनको कति घण्टा आँखामा पट्टी लगाउने र कति घण्टा खुल्ला राख्ने ? हप्ताको कति दिन पट्टी लगाउने ? दिनको कुन समयमा पट्टी लगाउने ? स्कूलमा के गर्ने ? घरमा के गर्ने ? आदि प्रश्नको उत्तर भने आँखा बिशेषज्ञले उपचारार्थ केटाकेटीको उमेर, दुबै आँखाको दृष्टि एवं अन्य विविध पक्षलाई समेत ध्यान दिई अन्तर्राष्ट्रिय मान्यता अनुसार तय गर्छन् । उपचारको सिलसिलामा दृष्टि क्षमतामा आउने सुधार र केटाकेटीको उमेर अनुसारको दृष्टि परिवर्तन एव. परिमार्जन गर्नुपर्ने हुन्छ ।

नजिकको बस्तु राम्रोसँग देख्ने र टाढाको वस्तु नदेख्ने केटाकेटीमा यो उपचार बढी प्रभावकारी हुन्छ । नजिक र टाढाको वस्तु स्पष्ट नदेख्ने भएका केटाकेटीमा तुलनात्मक रुपले यो उपचार कम प्रभावकारी हुन्छ । साथै जति कलिलो उमेरमा यो उपचार शुरु ग¥यो, यो त्यति नै बढी प्रभावकारी हुन्छ । यो उपचार ८–९ वर्षको उमेरसम्म जारी राख्नुपर्छ । प्रायजसो केटाकेटीको उमेर १० वर्ष नपुगेसम्म यो उपचार पद्दति प्रयोग गरिन्छ । वयस्क भएपछि अर्थात कलेज पढ्ने उमेरका विद्यार्थीमा यो उपचार प्रभावकारी हँुदैन । यो उपचार विधि शुरु गनुअघि अभिभावक र वालवालिकासँग यसको सकारात्मक पक्ष तथा कहिलेकाहिँ नकारात्मक पक्ष, जस्तैः पट्टीको एलर्जी एवं  सम्भावित मनोवैज्ञानिक असरको बारेमा  पनि छलफल गर्नु आवश्यक हुन्छ ।

३) डेढो आँखा सुधार गरी अल्छी आँखाको उपचार बिधि

कलिलो उमेरका वालवालिकामा दृष्टिदोष र डेढोपनको उचित उपचार समयमा नै नभएमा उनीहरु अल्छी आँखाको शिकार बन्न पुग्छन् । तसर्थ उनीहरुलाई आवश्यकता अनुसार चस्मा लगाइदिएर आँखामा पट्टी लगाउने उपचार पद्दति समेत अनुसरण गरी दृष्टि क्षमतामा सुधार ल्याउन सकिन्छ । त्यसपछि आवश्यकता  हेरी उपयुक्त उमेरमा डेढोपनको शल्यक्रिया गरिन्छ । त्यसपछि पनि चस्मा लगाइदिएर आँखामा पट्टी लगाउने उपचार पद्दतिलाई निरन्तरता दिनु  आवश्यक छ । यी उपचार पद्दतिबाहेक अन्य उपचार विधि पनि छन् । तर ती बिरलै मात्र प्रयोगमा आउने गर्दछन् ।
अन्तमा, हरेक अभिभावकले आफ्ना वालवालिकाको स्वास्थ्य परीक्षणको सिलसिलामा आँखा पवनि परीक्षण गराउनु पर्छ । आफ्ना ससाना नानीहरुलाई स्कूल पठाउनु अगाडि उनीहरुको आँखाको जाँच गराउनु आवश्यक हुन्छ । जसले गर्दा उनीहरुको आँखाको दृष्टिको समुचित विकास भएको छ वा छैन, चश्माको प्रयोग गर्नु पर्ने हो वा होइन भन्ने थाहा पाउन सकिन्छ । यस बाहेक स्कुलका शिक्षकहरुले पनि आफनो कक्षाका विद्यार्थीले  सेतो  बोर्ड वा कालो पाटीमा लेखेको विषयवस्तु पछाडिको बेन्चबाट देख्न सक्छन् या सक्दैनन्, नदेखेर  साथीको हेरेर पो सार्ने गछनर्् कि ? आदि कुरामा ख्याल राख्नुपर्छ । आँखा कमजोर भएको शंका लागेमा सम्बन्धित अभिभावकलाई जानकारी दिई चिकित्सक कहाँ जँचाउने सल्लाह दिनुपर्छ । किनभने अल्छी आँखा र कमजोर दृष्टि भएका बालबालिका भविष्यमा रोज्नसक्ने कतिपय प्राबिधिक पेसा तथा विशेषज्ञता हासिल गर्नबाट बन्चित हुन सक्छन् । त्यसैले अल्छी आँखाको पहिचान र उपचार समयमै हुनु अति आवश्यक छ ।


Advertisement
,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.