यसरी लम्बिदै छ सरकारको आयु
राष्ट्रिय सरकारको सम्भावना कम कांग्रेस, एमाले र माओवादीबीच सहमति कायम भई तत्काल राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना कम छ । सहमति नबन्दै सरकारको नेतृत्व लिन किचलो गर्दा नैतिक दबाब बढ्ने डर माओवादी अध्यक्ष प्रचण्डलाई छ, बहुमतीय सरकारको नेतृत्व गर्दा ‘प्रधानमन्त्री बन्ने खेलमा लागेको’ आरोप खेप्नुपर्ने चिन्ता छ । माओवादी–कांग्रेस बढ्दो अविश्वास एक महिनाअघि कांग्रेसले सरकारको नेतृत्वका लागि माओवादीलाई साथ दिने घोषणा गरेको थियो । तर, अन्तिम अवस्थामा माओवादीले धोका दिएको निष्कर्षमा कांग्रेस छ । अहिलेको पोजिसनमा कांग्रेस सके सरकारको नेतृत्व आफैँ गर्ने, नसके प्रतिपक्षमै बस्ने रणनीतिमा देखिन्छ । एमालेले सजिलै सरकार छाड्दैन प्रधानमन्त्री केपी ओलीले ०७४ मंसिरमा संसदीय चुनाव गराएर मात्र आफूले सरकार छाड्ने बताउँदै आएका छन् । प्रतिपक्षी कांग्रेस र सत्तासाझेदार माओवादीबीच अविश्वास बढेको अवस्थामा आफू बलियो भएको उनको बुझाइ छ । माओवादी नेतृत्वमा राष्ट्रिय सहमति नबन्ने र तीनबुँदे भद्र सहमतिमा आफ्नो पार्टीको तर्फबाट हस्ताक्षर नै नभएकाले बाध्यकारी नहुने उनको बुझाइ छ । माओवादीभित्रै अप्ठ्यारो माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू तत्काल सरकार परिवर्तनको पक्षमा छैनन् । सरकारमा पार्टीको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले २२ जेठमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सहमति कायम नभएसम्मै ओली नेतृत्वकै सरकार रहने बताइसकेका छन् । बहुमतीय सरकारको नेतृत्वबारे माओवादी आफैँ अलमलमा छ । सरकारबारे एमाले एकजुट प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको भद्र सहमतिको विषयमा सुरुमा एमालेभित्रै विवाद देखिएको थियो । तर, पछिल्लो समय बसेको स्थायी समिति बैठकले सकभर आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउने र नभए अरू दलकै नेतृत्वमा पनि सहमति जुटाउने गर्ने निर्णय गरेको छ । ओलीले बहुमत गुमाएपछि मात्रै कांग्रेस छलफलमा बस्ने कांग्रेस सभापति शेरबहादुर देउवानिकटका नेता डा. प्रकाशशरण महतका अनुसार पहिले माओवादीले नै भनेर सरकार फेर्ने कसरत गरे पनि अब त्यस्तो हुनेछैन । एकपटक धोका खाइसकेकाले ओली सरकारले बहुमत नगुमाउँदासम्म वचनकै भरमा सरकार फेर्ने कसरतमा नलाग्न देउवामाथि दबाब छ । ‘पहिले प्रचण्डजीले म असन्तुष्ट छु, सरकारबाट निस्कन चाहन्छु भनेकाले कांग्रेसले उहाँलाई सहमति दिएको हो । तर, प्रचण्डजी त्यसमा अडिनुभएन,’ महतले भने, ‘अहिले सत्तामै भएका दलहरू हामी असन्तुष्ट छौँ भनिरहनुभएको छ । त्यसो हो भने उहाँहरू सरकारबाट बाहिरिनुपर्यो । अनि मात्र नयाँ समीकरणको कुरा हुन्छ ।’ अर्काे समीकरण बनाउन लाग्दैनौँ ईश्वर पोखरेल, महासचिव, एमाले दुई दलबीच नौबुँदेबाहेक अरू कुनै सहमति भएकै छैन । राष्ट्रिय सहमति कायम हुने हो भने जोसुकै पनि नेतृत्वमा आउन सक्छ । घरीघरी यो विषय लुतो कन्याएजसरी मान्छेहरूले किन उठाइरहेका छन् ? मैले बुझेको छैन । यो समीकरण भत्काएर अर्काे समीकरण बनाउने होइन होला । ‘भद्र सहमति भद्र तरिकाबाटै लागू हुन्छ’ कृष्णबहादुर महरा, नेता, माओवादी केन्द्र भद्र सहमति भनेको हल्ला नगरेर भद्र ढंगले नै लागू गर्ने विषय हो । राष्ट्रिय समस्याको हल राष्ट्रिय सहमतिको सरकारबाटै हुन्छ । यो विषयमा उहाँहरू (प्रधानमन्त्री र प्रचण्ड) छलफलमा हुनुहुन्छ । राष्ट्रिय सहमतिको वा बहुमतको सरकार, अहिले केही भन्न सकिन्न । मधेसी मोर्चा के गर्छ ? ओली सरकार फेरबदलमा संयुक्त मधेसी मोर्चाले आफूले सकेको सहयोग रहने सार्वजनिक गरिसकेको छ । सरकार ढाल्न उसले अनौपचारिक छलफल पनि गर्दै छ । तर, उसले सोचेजस्तो सजिलो पनि छैन् । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भन्छन्, ‘यो सरकार परिवर्तन होस् भन्ने मोर्चाको धारणा छ ।’ प्रधानमन्त्री ओली मधेसको मुद्दाप्रति असहिष्णु भएको आरोप मोर्चाको छ । ‘ओली सरकार मधेसको मागको खिलाफमा छ, त्यसकारण उनको सरकार ढाल्न मोर्चाले सहयोग गर्छ,’ सद्भावना महामन्त्री मनीष सुमनले नयाँ पत्रिकासँग भने । मोर्चाको बुधबार बस्ने बैठकमा सरकार परिवर्तनको विषयमा छलफल हुनसक्ने एक नेताले बताए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...