युवा–प्रहरी सम्बन्ध सुधारका लागि फुटबल क्लिनिक
सर्च फर कमन ग्राउण्डले नेपाल प्रहरी र स्थानीय संघसंस्थाका लागि साझा मञ्चको सहकार्यमा तीन दिने फुटबल क्लिनिकको आयोजना गरेको छ ।
फुटबल क्लिनिक जेठ १९ देखि जेठ २१ गतेसम्म धनगढी र सुनसरीमा र जेठ २३ देखि जेठ २५ गतेसम्म सिरहा र महोत्तरीमा अयोजना हुँदैछ । फुटबल क्लिनिकमा प्रत्येक जिल्लाका ६० जना युवा र २० जना प्रहरीको सहभागिता रहने बताइएको छ ।
फुटबल क्लिनिकमा लैंगिक अल्पसंख्यक समुदायको पनि सहभागिता रहनेछ । प्रहरी र स्थानीय युवालाई समाजमा शान्ति र सुरक्षाको लागि सहकार्य प्रेरित गर्न र दुईबीच विश्वास र सहकार्य बढाउन फुटबल क्लिनिकको लक्ष्य रहेको छ ।
सर्च फर कमन ग्राउण्डका धनुषास्थित क्षेत्रिय कार्यालयका प्रबन्धक आलोक ठाकुरका अनुसार फुटबल क्लिनिक अभ्यासमा आधारित तालिम कार्यक्रम हो । यसले प्रहरी र युवाबीच सकारात्मक संवाद स्थापनाको लागि भूमिका खेल्ने अपेक्षा लिइएको छ । यसमा द्वन्द्व र शान्ति स्थापना, लैंगिक, नेतृत्व, सहकार्य र सञ्चारका विषयहरु समावेश हुनेछन् ।
कार्यक्रममा सहभागीहरुबीच उत्कृष्ट आइडियाको लागि समेत प्रतिस्पर्धा गराइनेछ जहाँ युवा र प्रहरीबीचको सहकार्यको लागि राम्रो योजना बनाउने युवालाई पुरस्कृत गरिनेछ । फुटबल क्लिनिकको अन्तिम दिन स्थानीयहरुको सहभागितामा मैत्रिपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना हुनेछ ।
प्रहरी र युवाहरुको सम्मिश्रण रहने चार टिमले मैत्रिपूर्ण फुटबल खेल्नेछन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...