काठमाडौं, ६ जेठ । चीनको गान्सुबाट सिगात्सेसम्म रेल आएको विषयले नेपाली मिडियामा यसपटक ठूलो स्थान पायो । रेलचर्चाले भारतमा आतंक फैलियो भने चिनियाँ मिनिडायमा पनि राम्रै कभरेज पायो । नेपालका लागि २३ डब्बामा ४६ कन्टेनरमा सामानहरु चीनबाट रेलमा हालेर ल्याइएको थियो । गान्सुबाट हिडेको रेल सिगात्सेसम्म आइपुगेका छ । सिगात्सेबाट बिहीबारसम्ममा केरुङ आइपुग्ने बताइएको छ । चीनबाट पहिलो पटक नेपालका लागि सामान आएको होइन । पहिलो पटक सिगात्सेहुँदै सामान आएको पनि होइन । अर्को कुरा चैतमा प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणगरेपछि भएको पारवहन सम्झौताको कुनै अंश पनि यो चिनियाँ रेलसँग जोडिदैन । किनभने यसरी आउन लागेको सामान सबै चिनियाँ हो । चीनको बाटो हुँदै सामान नेपाल आउन लागेको होइन ।
नाम उल्लेख नगर्न आग्रह गर्दै नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारीले भने, ‘चीनबाट सामान आएको विषय के कारणले ठूलो समाचार बन्यो मलाई थाहा छैन । यसअघि पनि रेल चढेरै सामानहरु सिगात्से हुँदै नेपाल भित्रने गरेको थियो । खै पहिले कुनै समाचार बनेन ।’
चीनको गान्सुबाट सिगात्से हुँदै केरुङ आइपुग्न झन्डै २ हजार किलोमिटर यात्रा गर्नुपर्छ । केरुङबाट काठमाडौंसम्मको दूरी १६५ किलोमिटर छ । सडक कच्ची छ । यो रुट पूरै रेलमय भयो भने मात्रै नेपाललाई चीनसँगको व्यापारमा सहजता हुन्छ । चिनियाँ सामान नेपालमा भारतको बाटो हुँदै र सोझै नेपालमै पनि आउँछ ।
यदि चीनको सिचुवानप्रान्तमा उत्पादन भएका वस्तु रेल चढेर सिधै काठमाडौंमा ‘अनलोड’ भयो भने तीन चरणको फाइदा हुन्छ । अर्थात गान्सु, सिगात्से, केरुङमा हुने लोड/अनलोडको झन्झट सकिन्छ । यसले समय र ढुवानी खर्च दुवै बचाउँछ । चिनियाँ रेलको फाइदा चिनियाँ वस्तु आयातमा मात्रै फाइदाजनक रहेको उद्योग वाणिज्य महासंघका ती पदाधिकारी बताए । उनले भने, ‘चीनको बाटो हुँदै तेस्रो मुलुकसँगको व्यापारको कुरा अहिले सुरु मात्रै भएको हो । तत्कालका लागि चीन भन्दा भारतको बाटो हुँदै नै नेपाललाई व्यापार गर्न सजिलो छ । भारतले बेला बेला दुःख दिइरहन्छ । यसकारण चीनचिरको विकल्प पनि हामीले राम्रो बनाउनु पर्छ । चिनियाँ रेलको विषयले बजार धेरै तताएको विषयमा ती पदाधिकारीले भने, ‘गान्सुबाट सिगात्सेसम्म रेलको ठेक्का एक नेपालीले लिएका रहेछन् । नेपाली व्यापारीले सामान ल्याउँदा त्यही रेल प्रयोग गर्छन् । नेपाली व्यापारीले आफ्नो प्रचार गर्न यो पल्ट हल्लाखल्ला गरेको भन्ने बुझेको छु मैले ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...