-->
बिमल माथिको बज्रपात ! बुबाको असामान्य मृत्यु पछी बहिनि पनि !
Advertisement

१४ जेठ, काठमाडौं । करिब १४ वर्ष अगाडि बुवाको मृत्यु भएपछि विमल घर्तिमगरको परिवार ३ सदस्यमा घटेका थिए । बहिनीको मृत्युपछि अब आमा छोरा मात्रै छन् । बिमलका बुवाको मृत्यु साँढेले हानेर भएको थियो । उनी प्रहरीका हवल्दार थिए । बुटबलको तालिम केन्द्रमा पीटी गुरुका रुपमा कार्यरत थिए ।
एक बिहान टम्म कुहिरो लागेको थियो । विमलका पिता घर नजिकै मोटरसाइकलमा गइरहेका बेला उनी साँढेसँग ठोकिन पुगे । उनको ‘स्पट डेथ’ भएको एन्फाका केन्द्रीय सदस्य तथा स्थानीयवासी प्रकाश पंगेनी बताउँछन् ।
श्रीमानको निधनपछि बिमलकी आमाले दुख गरेर दुई छोराछोरी हुर्काइन् । परिवारको आर्थिक अवस्था राम्रो थिएन । अहिले पनि सम्पत्तिका नाममा जम्मा ३ कठ्टा जति खेत र टिनले छाएको सानो घर छ उनीहरुका साथमा ।
दुईवटा कोठा र एउटा भान्सा भएको घर कुनै सेलिब्रिटी खेलाडीको जस्तो लाग्दैन । यद्यपि विमलले राष्ट्रिय टोलीबाट फुटबल खेल्न थालेपछि परिवारको आर्थिक अवस्थामा सुधार आइरहेको छ । श्रीमानको मासिक पेन्सन आउने भएकाले पनि धेरै भरथेग हुन्छ ।
बिमल आफ्नी बहिनीलाई चौपट्टै माया गर्थे । प्रत्येक पटक घर जाँदा बहिनीलाई उपहार लैजान्थे । दाजुबहिनीमा धेरै कुरा सेयर हुन्थ्यो । आफ्नो प्रेमको विषयमा मनिषाले दाजुलाई बताएकी थिइन् । बिमलले दुवै जनालाई राखेर सम्झाएका पनि थिए ।
‘उनीहरुको प्रेमलाई आशिषको परिवारले नस्वीकारेकाले विमलले दुवैलाई राखेर सम्झाउने कोशिष गरेका थिए,’ पारिवारिक श्रोत भन्छ ।
स्थानीयवासीका अनुसार मनिषाको शील स्वभाव सबै राम्रो थियो । उनी जोसुकैसँग सजिलै घुलमिल हुन्थिन् र गाउँमा सबैसँग राम्रो व्यवहार गर्थिन् ।
उनले बुधबार मात्रै ११ कक्षाको अन्तिम परीक्षा दिएकी थिइन् । उनी पढाइमा सिरियस थिइन् ।बिमलले सरकारी स्कुलमा पढे पनि मनिषाले भने बोर्डिङ स्कुलमा पढेकी हुन् ।
बिमल प्रायः बाहिरै हुने भएकाले घरमा आमाछोरी मात्रै बस्थे । आमा बुधबार काम विशेषले बुटबल गएकी थिइन् । बिहीबार बिहान ४ बजे उनी घर फर्किँदा छोरीको शव देखेर बेहोस भएकी थिइन् । उनी अहिले पनि अर्द्धमुर्छित् अवस्थामा छिन् ।
मनिषाका प्रेमी आशिष भने खराब संगतका कारण कुलतमा फसेका थिए । उनी जमिन्दारका छोरा हुन् । परिवारमा उनको सबै पुगिसरी छ । उनले ११ कक्षा पास गर्न नसकेपछि पढाई छाडेका छन् । साथीहरुलाई खुवाउने-पियाउने काममा धेरै पैसा खर्चिन्छन् ।
मनिषाकी आमाले बुधबार दिउँसो छोरीसँग अन्तिम पटक फोनमा कुरा गरेकी थिइन् । साँझबाट भने मनिषाको मोबाइल अफ थियो । आशिष राति मनिषाको घरमा स्कुटर लिएर आएको र १२-१ बजेतिर बाहिरिएको छिमेकीहरुले बताएका छन् । उनले मनिषाको सल बोकेर निस्केका थिए ।
विमलको घर नजिकै अंकलको घर छ । उनका हजुरवा पनि छन् । परिवारमा केही अभर पर्दा उनीहरुले हेर्छन् । पैसा कमाउन थालेपछि चाँडै नयाँ घर बनाउने योजना बिमलले बनाएका थिए ।
साफ गेममा स्वर्णपदक जितेर फर्केपछि बिमललाई स्थानीय स्तरमा सम्मान गरिएको थियो । सो कार्यक्रममा उनकी आमा र बहिनी पनि थिए । सम्मान ग्रहण गर्दा उनी बुवालाई सम्झेर खुबै रोएका थिए । आमा र बहिनी पनि बिमललाई अंगालो मारेर रोएका थिए ।
बिमलका बुवा आफ्ना छोरालाई ठूलो फुटबल खेलाडी बनाउने सपना देख्थे । तर, छोरो देशको चर्चित फुटबलर भएको उनले हेर्न पाएनन् । अनलाइनखबरबाट साभार |


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.