-->
गौतम बुद्ध विश्वकै ज्योति
Advertisement

काठमाडौँ, जेठ ७  गते । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्र बौद्ध दर्शनको उद्गमस्थल रहेको बताउनुभएको छ । २५६०औँ बुद्ध जयन्तीका अवसरमा बिहीबार राजधानीमा आयोजित
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्दै उहाँले लुम्बिनी क्षेत्रलाई बुद्धको जन्मस्थल र बौद्ध धर्मको उद्गमस्थलका रूपमा प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले ऐतिहासिक, धार्मिक र पुरातात्विक क्षेत्रका रूपमा लुम्बिनीको विकास गर्न बृहत् योजना निर्माणको काम भइरहेको बताउनुभयो ।
उहाँले गौतम बुद्धलाई एसियाको मात्र नभई विश्वकै ज्योतिको सङ्ज्ञा दिनुभयो । उहाँले बुद्धको दर्शनले धैर्यता, मानवकल्याण र निःस्वार्थ भावनालाई केन्द्रमा राख्ने भएकाले बौद्ध दर्शन र बुद्धलाई अलग–अलग रूपमा बुझ्न नहुने धारणा व्यक्त गर्नुभयो । ‘सम्मेलनले बुद्ध र बौद्ध दर्शनबीचको अन्तर सम्बन्धलाई थप पुष्टि गर्ने विश्वास लिएका छौँ’, उहाँले भन्नुभयो । सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्रले लुम्बिनी र बुद्ध दर्शनको विकासका लागि सरकारलाई नीतिगत सहयोग मिल्ने उहाँको भनाइ थियो ।
सरकारले लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय बौद्ध दर्शन अध्ययन केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखेको उहाँले जानकारी दिँदै आर्थिक विकासलाई प्राथमिकतामा राखेकाले पर्यटनसहित सबै क्षेत्रको प्रवद्र्धनका लागि सहयोग गर्न उहाँले अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गर्नुभयो ।
उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले विश्वभर बुद्धको जन्मस्थल र शान्तिको केन्द्रका रूपमा लुम्बिनीको प्रचार गर्न सम्मेलन सहयोगी बन्ने बताउनुभयो । बुद्धको चर्चा र सम्मान नेपालबाहिर नै बढी हुँदै आएकोमा अब भने नेपालभित्रै बौद्ध दर्शनको प्रवद्र्धनका काम अघि बढ्ने उहाँले बताउनुभयो । सबै बौद्ध धर्मावलम्बीको केन्द्रका रूपमा लुम्बिनी विकासको अवधारणा अघि बढेको उहाँले बताउनुभयो ।
भारतको प्रतिनिधित्व गरेर सहभागी हुनुभएका राहुल बोधी महाथेरोले इतिहासमा धेरै बुद्धको जन्म हुँदै आए पनि गौतम बुद्धको जन्मस्थल लुम्बिनी नै भएको बताउनुभयो । त्यस्तै, चीनको बुद्धिष्ट एसोसिएसनका उपाध्यक्ष यिन सुनले विभिन्न समयका अन्वेषण, शोक स्तम्भ र चीनबाट नेपाल भ्रमण आएका धर्मगुरुले समेत आफ्ना कृतिमा बुद्धको जन्मस्थल लुम्बिनी नै उल्लेख गरेको बताउनुभयो ।
बुद्ध र लुम्बिनी क्षेत्रको विकासका लागि चीनले लुम्बिनी क्षेत्रमा चिनियाँ गुम्बासमेत निर्माण गरेको उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा भारत, चीन, जापान, दक्षिण कोरिया, श्रीलङ्कालगायत देशका बौद्ध धर्मका विद्वानले बुद्ध दर्शन र लुम्बिनी क्षेत्रको विषयमा आफ्नो धारणा राख्नुभएको थियो । विभिन्न २८ देशका सरकारी प्रतिनिधि तथा बुद्ध धर्मसँग सम्बन्धित व्यक्तित्व उपस्थित रहेको सम्मेलन शुक्रबारसम्म सञ्चालन हुनेछ । सम्मेलनको पहिलो दिनमा बौद्ध दर्शन, बुद्धको जीवनचक्र, लुम्बिनीको महìवलगायत विषयमा १९ ओटा कार्यपत्र प्रस्तुत भएका थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.