-->
सद्‍भावनाले सञ्जय साहलाई पदमुक्त गर्‍यो
Advertisement

सद्‍भावना पार्टीले जनकपुर बमकाण्डको दोषी रहेको अभियोमा थुनामा रहेका सञ्जय साहलाई पार्टीको वरिष्ठ उपाध्यक्ष पदबाट हटाएको छ । साह पार्टीमा चौथो मर्यादाक्रममा थिए ।

२०६९ बैशाख १८ मा जनकपुरको रामानन्द चोकमा गराईको बम विष्फोटमा ५ जनाको ज्यान गएको थियो । त्यस घटनाको मुख्य आरोपीका रुपमा साह पुर्पक्षका लागि थुनामा छन् । थुनामै रहेका साहमाथि जनकपुरका सञ्चारउद्यमी अरुण सिंघानिया हत्याको आरोप पनि प्रहरीले लगाएको छ ।
अध्यक्ष राजेन्द्र महतोले बिहीबार गरेको पार्टी केन्द्रीय समितिको पुनर्गठनमा साहलाई हटाएका छन् । उनी थुनामा गएको करिब २ वर्षपछि उनलाई पार्टीले पद मुक्त गरेको हो ।

०७० को दोस्रो संविधानसभा निर्वाचन अगाडि मधेसी जनअधिकार फोरम-लोकतान्त्रिक) त्यागेर सदभावना प्रवेश गरेका साह धनुषा-४ बाट दोस्रो पटक संविधानसभा सदस्य निर्वाचित भएका थिए । प्रहरीले पक्राउ गरे यता उनी सांसदपदबाट निलम्बित छन् ।

सदभावना पार्टीका महासचिव मनिषकुमार सुमनले साहकै सल्लाहमा उनलाई वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारीबाट मुक्त गरिएपनि उनी पार्टीको नेता रहेको बताए ।

महतोले पार्टीमा नवप्रवेशीलाई पद मिलाउन ९४ सदस्यीय समितिलाई १ सय १ सदस्यीय बनाएका छन् । साहकी पत्नी रंगिलादेवी साह केन्द्रीय समितिमा आएकी छन् ।

फोरम लोकतान्त्रिक त्यागेर आएका मृगेन्द्रकुमार सिंह र अजय चौरसियाले क्रमशः वरिष्ठ उपाध्यक्ष र सह महासचिवको जिम्मेवारी पाएका छन् । केन्द्रीय समितिको पुनर्गठनमा नव प्रवेशीले महत्वपूर्ण जिम्मेवारी पाएको तर आफ्नो मूल्यांकन नभएकोमा कतिपय नेताले असन्तुष्टि व्यक्त गरेका छन् । 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.